महालक्ष्मी विकास बैंकले मनायो २९औँ वार्षिकोत्सव



काठमाडौं । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट बैँकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक आजबाट २९औँ वर्षमा प्रवेश गरेको छ ।

तीन दशकको यात्रा गरेको अवसरमा बैंकले १०३ वटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको छ ।

त्यस्तै २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, सम्पूर्ण शाखा कार्यालयमा केक काट्ने कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, शृंखला २ लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११:३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयका (आठवटा) विभिन्न स्थानमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीको सहभागितामा शनिबार बिहान ७:३० देखि ८:३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरु जस्तै: मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लाकार्डको प्रयोग गरिएको थियो ।

त्यसैगरी वार्षिकोत्सवको अवसरमा गत वर्षदेखि सुरु गरिएको महालक्ष्मी कर्पोरेट क्रिकेटको दोस्रो शृंखला (महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, शृंखला २) १६ टिमको सहभागितामा बैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ ।

बैंकले देशभर रहेका शाखामार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।


क्लिकमान्डु