सवा १६ अर्बमा बन्ने तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा सञ्चय कोषले १२ अर्ब लगानी गर्ने



काठमाडौं । सवा १६ अर्ब रुपैयाँको लागतमा दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले १२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

यसअघि २०७८ साउन ११ मा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आज (आइतबार) साँझ ५ः१५ बजे नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

१६ अर्ब १९ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत करिब १२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

तामाकोशी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोशीको क्यास्केड आयोजना हो । त्यसैले तामाकोशी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति २०७४को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

पूर्वऊर्जामन्त्री वर्षमान पुनले सो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका थिए । केही वर्षअघिसम्म सो आयोजना माथिल्लो तामाकोशीअन्तर्गत नै राख्नुपर्ने माग पनि आएको थियो । प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको हो ।

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको सञ्चय कोषले रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी गरिसकेको छ ।


क्लिकमान्डु