सेयर बजारमा हरियाली, २ दिनमा ५५ अंकले बढ्यो



काठमाडौं । सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको हरियाली छाएको छ ।

लामो समयदेखि बुधबार सेयर बजारमा देखिएको हरियाली बिहीबार पनि कायमै रहेको छ । दुई दिन बजारमा हरियाली छाउँदा सेयर बजार ५५ अंकले बढेको छ ।

बुधबार बजार २३.९६ अंकले बढेको थियो भने बिहीबार ३२.३० अंकले बढेर परिसूचक १८७७.३२ बिन्दुमा रोकिएको छ । यो दिन बजार बढ्नुका साथै कारोबार रकम पनि निकै बढेको छ ।

२६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक १३.२५, विकास बैंक ८७.३१, वित्त ३३.६२, होटल १२८.७३, जलविद्युत ६४.८१, जीवन बीमा १९४.४३, उत्पादन तथा प्रशोधन ४२.०६, माइक्रोफाइनान्स ७३.५३ अंक, निर्जीबन बीमा १४८.५९, ट्रेडिङ समूहको उपसूचक ७४.५५ अंकले बढेको छ ।

कारोबारमा हिमालयन उर्जा विकास कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिव श्री हाईड्रोपावर, गणपति लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने एनआईबिएल ग्रोथ फण्ड, एनएमबि ५०, सामुदायिक लघुवित्त, किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ६३ लाख ४८ हजार ४३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र एनआईसी एशिया बैंक रहेको छ ।


क्लिकमान्डु