आर्थिक मन्दीले गत वर्षभन्दा १ खर्ब कम लगानी प्रतिबद्धता



काठमाडौं । आर्थिक मन्दीले उद्योग क्षेत्रमा उच्च असर पारेको छ । अर्थतन्त्रमा देखिएको मन्दीले बजारमा माग नहुँदा अधिकांश उद्योगको उत्पादन क्षमता घटेको छ भने नयाँ उद्योगले लगानी गर्न सकेका छैनन् ।

सञ्चालनमा रहेका अधिकांश क्षेत्रका उद्योग पूर्णक्षमतामा सञ्चालन हुन नसकेको अवस्थामा नयाँ लगानी गर्न उद्योगी डराइरहेका छन् । उद्योग विभागको तथ्यांकअनुसार अर्थतन्त्रमा देखिएको मन्दीका कारण लगानी ह्वात्तै घटेको छ ।

चालू आर्थिक वर्षको १० महिनामा लगानी प्रतिबद्धता ३५ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनामा स्वदेशी तथा विदेशी गरी २६४ वटा उद्योग दर्ता हुँदा २ खर्ब ९६ अर्ब लगानी प्रतिबद्धता आएको थियो ।

तर, चालू आवको सोही अवधिमा २४८ वटा उद्योग दर्ता हुँदा १ खर्ब ९२ अर्ब रुपैयाँ मात्रै लगानी प्रतिबद्धता आएको छ, जुन गत वर्षको तुलनामा १ खर्ब ४ अर्ब रुपैयाँले कम हो ।

चालू आर्थिक वर्षको वैशाखसम्ममा दर्ता भएका २४८ उद्योगले १८ हजार ५२४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए । वैशाख महिनामा स्वदेशी तथा विदेशी गरी ३१ वटा उद्योगले ११ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

अहिलेसम्ममा ९ हजार ११ वटा उद्योगले २८ खर्ब १६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । जसमा ६ लाख ७५ हजार ५२७ जनाले रोजगारी पाउनेछन् ।

चालू आर्थिक वर्षको वैशाखसम्ममा ठूला उद्योग ५६ वटा, मझौता उद्योग ६२ वटा र  १३० वटा साना उद्योग दर्ता भएका छन् । क्षेत्रगत हिसाबले उत्पादन क्षेत्रमा ९८ वटा उद्योग दर्ता भएका छन् ।

त्यस्तै सेवा क्षेत्रमा ४७ वटा, पर्यटन क्षेत्रमा ४४ वटा, विद्युत क्षेत्रमा ३९ वटा, सूचना तथा प्रविधि क्षेत्रमा ९ वटा, कृषि क्षेत्रमा ६ वटा, उत्खनन क्षेत्रमा ४ वटा र पूर्वाधार क्षेत्रमा एउटा उद्योग दर्ता भएका छन् ।


क्लिकमान्डु