झापाका तीन नगरको साझेदारीमा फोहोरबाट बायोग्यास उत्पादन



सांकेतिक तस्बिर

झापा । झापाका तीन नगरपालिकाले फोहोरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले बायोग्यास उत्पादन थालेका हुन् ।

कनकाई नगरपालिका-२ मा बायोग्यास उत्पादन गृह छ । कनकाई-बिर्ता-अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर ती पालिकाले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले यसै सातादेखि परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिक रुपमा वितरण गरिने बताए । यहाँ उत्पादित बायोग्यासको सिलिन्डर उद्योग र होटलमा बढी उपयोगी हुने उनको भनाइ छ ।

कम्पनीमा स्थापनामा २२ करोड लगानी हुने र ६० प्रतिशत लगानी तीनवटै पालिकाले व्यहोर्ने सहमति भएको छ । बायोग्यास उप्पादनका लागि विश्व बैंकले पाँच करोड ४६ लाख अनुदान दिएको छ ।

तीनवटै नगरपालिकाको बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहोर प्रयोग गरेर उक्त कम्पनीले बायोग्यास उत्पादन गर्नेछ । हाल परीक्षणका लागि स्थानीय जंगलमा पाइने झारपातलाई समेत प्रयोगमा ल्याइएको छ ।

त्यहाँ बायोग्याससँगै जैविक मलसमेत उत्पादन गरिने कम्पनीले जनाएको छ । नकुहिने प्लास्टिकजन्य फोहोरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने उक्त कम्पनीको योजना छ । एलपी ग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिन्डर १ सय ५० रुपैयाँ सस्तो पर्ने अध्यक्ष तिम्सिनाले बताए ।

चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा १ हजार २ सय घनमिटर बायोग्यास उत्पादन गर्न सकिने उनले बताए । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट ग्यास उत्पादन सुरु भए पनि बजारीकरणका लागि छलफल भइरहेको बताइन् ।

उनले तीनैवटै पालिकाको संयुक्त बैठक बसेर बजारीकरणको बारेमा निकास निकाल्ने योजना रहेको जानकारी गराइन् । ‘फोहोरलाई मोहोर बनाउने परियोजना हो यो,’ नगर प्रमुख प्रसाईंले भनिन्, ‘बिर्तामोड नगरपालिकाले कम्पनीमा पठाउने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गर्नेछ । त्यसकै लागि प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम भइरहेको छ ।’

ऊर्जा प्लान्टमा स्थानीय समुदाय र अन्य पालिकाको समेत लगानी बढाउने बारेमा छलफल भइरहेको उनले बताइन् ।

मेचीनगर, शिवसताक्षी र भद्रपुर नगरपालिकालाई पनि फोहोरमैला व्यवस्थापनका लागि यस कम्पनीसँग सहकार्यका लागि छलफल भइरहेको छ । हाल जैविक मलसमेत उत्पादन भइरहेकाले यसलाई प्रयोग गर्न उचित भए-नभएको जाँच गर्न प्रयोगशालामा पठाउने तयारी भइरहेको समितिका अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

(रासस)


क्लिकमान्डु