बचतकर्ताको १२ अर्ब बढी ठग्ने शिवशिखर सहकारीका सञ्चालकसहित तीन जना पक्राउ, साढे ७ करोड बिगो दाबी



काठमाडौं । बचतकर्ताको पैसा ठगेर भाग्ने शिवशिखर बहुउद्धेश्यीय सहकारीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारी सञ्चालक सञ्चालकद्वय पुष्कर मल्ल तथा अनिश राज भण्डारी र सहकारीका सञ्चालक केदारनाथ शर्माकी श्रीमती शिखर अर्गनाइजेसन प्रालिका निर्देशक (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी) गीता शर्मालाई पक्राउ गरेको छ । सीआईबीमा अनुसार शर्मा र मल्ललाई वैशाख २७ गते र राजभण्डारीलाई बुधबार पक्राउ गरेको हो ।
सीआईबीका अनुसार सहकारी संस्थाका सदस्यहरुलाई आर्कषक ब्याजको प्रलोभन देखाई बचत, मुद्दती निक्षेप तथा सेयरमा समेत रकम जम्मा गर्न लगाई बचत गरेको रकम तथा मुद्दती खातमा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी निक्षेप रकम ठगी गरेको छ । प्रहरीका अनुसार बुधबारसम्म साढे ७ करोड बिगो दाबी गरी ११० वटा उजुरी परेका छन् ।

सीआईबीले उक्त सहकारी संस्थाको विभिन्न जिल्लाहरुमा रहेका शाखाहरुबाट पिडित भएका निक्षेपकर्ताहरुले सम्बन्धित शाखा कार्यालयहरु रहेका जिल्ला प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न र भक्तपुर जिल्लाका जाहेरी दिन बाँकी पिडितहरुले ब्यूरोमा यथाशिघ्र जाहेरी दिन भनेको छ ।

काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ परेको तीन जनालाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

बचतकर्ताको करोडौ रुपैयाँ ठगेर भागेका शिखर अर्गनाईजेशनका निर्देशक तथा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा अहिले फरार रहेका छन् ।

शिखर बचत तथा ऋण सहकारी र तुलसी सहकारीमार्फत बचतकर्ताको १२ अर्ब रुपैयाँ ठगेर फरार भएका केदारनाथ शर्मालाई १० दिन भित्र विभागमा उपस्थित गराउने भन्दै शर्माकी श्रीमती गीता वैशाख दोस्रो साता सहकारी विभागमा पुगेकी थिइन् ।
विभागमा पुगेर केदारनाथलाई उपस्थित गराउने भन्दै हिँडेपछि उनी सम्पर्कमा नआएको बताइएको छ । उनी सम्पर्कमा नआएपछि ब्यूरोले पक्राउ गरेको छ ।

विभागका अनुसार केदारनाथ शर्मा, गीता शर्मा र निजहरुको स्वामित्वमा रहेका विभिन्न संस्थाको नाममा रहेका जग्गा धनी प्रमाण पुर्जाहरु, कम्पनीका शेयर लगतको प्रतिलिपीहरु नोटरी पब्लिकबाट प्रमाणित गराई विभागमा पेस भएको जनाइएको छ ।


प्राप्त कागजातका आधारमा खुल्न आएका चल अचल सम्पत्ति, शेयर लगायतका कारोबार रोक्का राख्न सम्बन्धित निकायमा पत्राचार गर्न तयारी भएको छ । थप प्राप्त हुन आएका सम्पत्तिको विवरणका आधारमा क्रमश रोक्का राख्ने प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

श्री शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार, भक्तपुरका बचतकर्ता सदस्यहरुले बचत रकम फिर्ता नपाएको, संस्थाको विभिन्न ठाउँमा रहेका सेवा केन्द्रहरु समेत नियमित रुपमा सञ्चालन नभएको, संस्थाका सञ्चालक तथा कर्मचारीहरु बचतकर्ता सदस्यहरुको नियमित सम्पर्कमा नरहेको लगायतका कारणले आफ्नो बचत रकमको सुरक्षाको प्रत्याभूतिको माग गर्दै विभागमा लिखित तथा मौखिक उजुरी दिएका थिए ।

निवेदन आउने क्रम जारी रहेको विभागले जनाएको छ । शिवशिखरले १० अर्ब र तुलसी सहकारीले २ अर्ब भन्दा बढी रकम बचतकर्ताको ठगेको बताइएको छ ।


क्लिकमान्डु