स्थानीयले नै किनेनन् घोराही सिमेन्टको आईपीओ
काठमाडौं । आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको घोराही सिमेन्टको सेयर बिक्री नभएपछि आवेदन दिने म्याद थपिएको छ । कम्पनीले रोजगारीका क्रममा विदेशमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर बिक्री नभएपछि समय थप गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आज (मंगलबार) कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । मागअनुसार आवेदन नपरेपछि स्थानीयका लागि समय थपिएको छ ।
अब स्थानीयले जेठ १७ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा पनि मागअनुसार आवेदन नपरेको खण्डमा कम्पनीले बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीले वैशाख १९ देखि उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियममा आईपीओ निष्कासन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँको दरले स्थानीयका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता सेयर स्थानीय र ७ लाख ५४ हजार ६६१ कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो । सेयरमा उद्योग प्रभावित दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १, २, ३, १४, १५, १७, १८ र १९ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार दाङको बंगलाचुली गाउँपालिका ३, ४ र रोल्पाको त्रिवेणी गाँउपालिका ३ र ४ का बासिन्दाका लागि पनि सेयर छुट्याएको छ । स्थानीय बसिन्दाले आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ताको लागि आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीले सी आश्वा सदस्य रहेका बैंंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयले हिमालयन, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, नेपाल एसबिआई, प्रभु, कुमारी, एनएबि, सानिमा र ज्योति विकास बैंकका स्थानीय शाखा र घोराही सिमेन्ट इन्डस्ड्रीमा आवेदन दिन सकिनेछ ।
यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ छन् । रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ दिएको छ ।
यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको देखाउँछ । कम्पनीले स्थानीयलाई निष्कासन गरेको सेयरमा अहिलेसम्म कति आवेदन परेको भन्ने तथ्याक सार्वजनिक गरिएको छैन ।
यसअघि आईपीओमा ठूलो मात्रामा आवेदन पर्ने गरेको थियो । मागभन्दा १०-१२ गुणा बढी आवेदन परिरहेका बेला घोराही सिमेन्टले जारी गरेको आईपीओमा भने लगानीकर्ताको आकर्षण नदेखिएको हो ।