नेपालबाट ५० मेगावाट बिजुली किन्न बंगलादेश आतुर, ५०० मेगावाटमा प्रारम्भिक हस्ताक्षरको तयारी



काठमाडौं । ऊर्जा संकट समाधानका लागि बंगलादेश नेपालबाट ५० मेगावाट बिजुली लैजान आतुर देखिएको छ । नेपाल-बंगलादेश सचिवस्तरीय बैठकमा बंगलादेशले तत्काल बिजुली लैजान तयार रहेको बताएको हो ।

हिजोको बैठकमा विद्युत व्यापार, प्रसारणलाइन र त्रिपक्षीय सम्झौताका एजेन्डामा छलफल भएको थियो । नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि अहिले भारत र बंगलादेशबीच व्यापार भइरहेको प्रसारणलाइनबाट र पछि छुट्टै प्रसारणलाइन निर्माण गर्ने विषयमा कुराकानी भएको छ ।

भारतको बाटो हुँदै प्रसारणलाइन लैजानुपर्ने भएकाले त्यसमा भारतको स्वीकृति चाहिन्छ । अहिले भारतले नेपाल-बंगलादेशबीच डेडिकेटेड प्रसारणलाइन तथा विद्युत व्यापारको स्वीकृति नै दिएको छैन ।

सोमबारको बैठकको नेतृत्व नेपालबाट ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवालले गरेका थिए । हिजोको सहसचिव स्तरीय बैठकको निर्णयलाई आजको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ । बंगलादेशमा जारी सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गरेका छन् ।

ऊर्जा क्षेत्रमा क्षमता अभिवृद्धिका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा विद्युत आयातका लागि भारत-बंगलादेश अन्तरसम्बन्ध जोड्ने र नेपालबाट बंगलादेशमा ५०० मेगावाट जलविद्युत लैजाने प्रस्तावित सम्झौतामा हस्ताक्षर गर्ने विषयमा छलफल भएको छ ।

बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित ५ सय मेगावाट बिजुली लैजाने प्रस्ताव यसअघि नै गरेको थियो । माथिल्लो कर्णाली निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरले पाएको छ ।

त्यस्तै ६८३ मेगावाटको सुनकोसी-३ जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गरेर त्यसबाट पनि बजुली लैजान चाहेको छ । ऊर्जा संकटका कारण बंगलादेशमा दैनिक ६-७ घण्टा लोडसेडिङ हुने गरेको छ ।


क्लिकमान्डु