स्टकको लाइसेन्स रोक्नु प्रशंसनीय, आर्थिक अनियमिततामा संलग्नलाई कारबाही गर्न ब्रोकरको माग
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल नेपाल धितोपत्र बोर्डबाट बितरण गर्न लागिएको स्टक एक्सचेञ्जको लाईसेन्स तत्काल रोक्न सरकारले गरेको निर्णयलाई खुलेर प्रशंसा गरेको छ ।
यो कदमले तरल राजनीतिक अवस्थामा आर्थिक चलखेल र अनियमितता गरी लाभ लिन खोज्ने साहुजीहरुको प्रयासमा ढुङ्गा लाग्न पुगेको र भ्रष्टाचारीहरुको मुटुमा ढ्याङग्रो बज्न शुरु गरेको एसोसिएनले जनाएको छ ।
‘धितोपत्र बोर्डले नयाँ नेतृत्व पाए देखि नै सीमित साहुजीहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी अध्ययन बिना र औचित्य बिना नै विद्यमान ऐन नियममा पटक–पटक संशोधन गरी स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीको लाईसेन्स बितरण प्रक्रिया अगाडि बढाई सकेको थियो’ जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाल सरकारलाई यसै विज्ञप्ती मार्फत् स्टक एक्सचेञ्जको लाईसेन्स रोके जस्तै दलाल व्यवसायीको लाईसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानविन गरी कारबाही गर्न अनुरोध गर्दछौं ।’
एसोसिएसनले साहुजीहरुको प्रभावमा परी कोठे बैठकबाट नियमावली ड्राफ्ट गरी मन्त्रिपरिषद्बाट ३ दिन भित्रैमा पटक पटक नियमावली संशोधन गराउन सफल हुनुले आर्थिक लेनदेन भैसकेको अनुमान लगाउन सकिने जनाएका छन् ।
‘नेपालको पूँजीबजार आर्थिक बेथितिको पहाड बनेको छ । विद्यमान कानूनमा रहेको जालसाझीयुक्त कारोबार तथा भित्री कारोबारहरुको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नबनाई संस्थागत सुशासनमा नै प्रश्नचिन्ह लागेका कम्पनीहरु तथा निजका सञ्चालक, संस्थापकबाट खुल्लमखुल्ला नियमकिय कमजोरीको फाईदा उठाई सर्वसाधारण लगानीकर्ताहरुको दोश्रोबजारमार्फत् गरिएको खर्बीको लगानी जोखिममा छ’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘अनावश्यक बिषयवस्तुको उठान गरी राजनैतिक नेतृत्वलाई प्रभावमा पारी बितरण गर्न लागिएको दलाल व्यवसायीको लाईसेन्सले भविष्यमा पूँजी बजारमा ठूलो दुर्घटना हुने निश्चित छ ।’
बोर्डले पहुँच विस्तारको नाममा लाईसेन्स बितरणलाई मात्र एकोहोरो अर्जुन दृष्टि लगाउनुको पछाडी कुनियत र आर्थिक लोभले काम गरेको एसोसिएसनले जनाएको छ । बीमा कम्पनीहरुमा बैंकको प्रत्यक्ष लगानीसमेत रहेको र यिनै कम्पनीको सहायक कम्पनीलाई धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र दिनु भनेको सेयर बजारमा सिधै भित्री सूचनाको कारोबार गराउनु भएको जनाएको छ ।