सोसाइटल सहकारीबाट ठगिएका बचतकर्ताले पैसाको सट्टा जग्गा पाउने



काठमाडौं । सोसाइटल बचत तथा ऋण सहकारीबाट ठगिएका बचतकर्ताले पैसाको सट्टा जग्गा नै पाउने भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी ब्यवस्थापन समितिको कार्यालयका अनुसार सहकारीका बचतकर्ताले चितवन जिल्लास्थित साविक भण्डारा ६ (हाल राप्ती नगरपालिका–६)मा रहेको जग्गा पाउने भएका छन् । त्यसका लागि १५ दिनभित्र समिति कार्यालयमा निवेदन दिनुपर्ने छ ।

सरकारले २०७५ फागुन १९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

संस्थाको दायित्व भुक्तानीको लागि समितिबाट सहकारीको स्वामित्वमा राप्ती नगरपालिका–६ कि.नं. १०९ को १३ कट्ठा जग्गा लिलामीको लागि सूचना प्रकाशित गरिएकोमा तोकिएको मितिभित्र कुनै बोलपत्र कवोल प्रस्ताव नआएको कार्यालयले जनाएको छ ।

लिलाम हुन नसकेको जग्गा संस्थाका बचतकर्ताहरु मध्ये केही बचतकर्ताहरुले आफ्नो दाबी रकमको अनुपातमा उक्त जग्गा लिई सहकारीको बचत हिसाब मिलान गर्न पाऊँ समिति समक्ष निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।

उक्त निवेदनका आधारमा सहकारी संस्थाका इच्छुक मागदावीकर्ताहरुले आफ्नो मागदावीको अनुपातमा उक्त जग्गा लिन मञ्जुर भएमा सोही व्यहोरा उल्लेख गरी समितिको कार्यालयमा १५ दिन भित्र निवेदन दिन सूचनामा उल्लेख छ ।

सहकारीबाट ठगिएका बचतकर्तामध्ये २४० जनाले माग दाबी गरेका थिए । जसमा १३३ जनाको लगतकट्टा भइ १०७ जनाको बाँकी रहेको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु