दैलेख आगलागीमा परी घाइते भएका विकको मृत्यु



दैलेख । दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते आठविस-६ का ५५ वर्षीय भैरव विकको उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।

भेरी अस्पतालमा आठविस-६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भएको डाक्टर चापागाईंले बताए ।

माल्या जंगलमा बुधबार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो ।


क्लिकमान्डु