अन्नपूर्ण हिमालबाट ३ हजार ६ सय किलो फोहोर संकलन



म्याग्दी । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो ।

आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेको हो । एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर सङ्कलन गरिएको टोलीले जनाएको छ । कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ ।

नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको छ । आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाडौँ लगिएको हो ।

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । “आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहर बढ्दै गएको थियो”, उनले भने, “सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।”

हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई १५ लाख सहयोग गरेको छ । सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ । गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो । हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश गएकाले सेनाले सफाइ अभियान चलाएको हो । सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट कुहिने सात हजार एक सय ५७ किलो फोहर सङ्कलन गरेको थियो ।


क्लिकमान्डु