महाभारतका ३२ सय परिवार केन्द्रीय विद्युतले एकै पटक झिलिमिली



काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाको ३ हजार २०० परिवारलाई आजदेखि केन्द्रीय विद्युत् उपलब्ध गराइएको छ ।

सरकारको उज्यालो अभियान कार्यक्रमअन्तर्गत महाभारतका सबै परिवारमा पुर्याइएको बिजुलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम तथा बजेटमा आउँदो दुई वर्षभित्र प्रत्येक घरमा बिजुलीको व्यवस्थापन गरिसक्ने घोषणा गर्ने बताए । “नेपाली लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आइसकेका छन्, म केही समयपछि भारत भ्रमणमा जाँदा विद्युत् बिक्री र उत्पादनका विषयमा छलफल गरी सम्झौतासमेत गर्नेछु”, उनले भने ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ९५ प्रतिशत नेपाली विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिई उज्यालो उपभोग गरिरहेको उल्लेख गर्दै दुई प्रदेश पूर्ण विद्युतीकरण भइरहेको र अबको केही महिनामा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताए ।

स्थानीय जनप्रतिनिधिले अवस्थामा महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेश गरेपछि तत्कालीन नेकपाको सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो ।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग कलकारखाना सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए । उनका अनुसार यसअघि गाउँपालिकामा लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।


क्लिकमान्डु