धितोपत्र बजारमा गैरआवासीय नेपाली भित्र्याउन अध्ययन समिति गठन
काठमाडौं । धितोपत्रको दोस्रो बजार कारोबारमा गैरआवासीय नेपालीलाई भित्र्याउने अध्ययन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डले पुँजीबजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालनमा थप योगदान पुग्नेगरी गैरआवासीय नेपालीलाई भित्र्याउन समिति बनाएको हो ।
बोर्डले नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुंगाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल छन् ।
धितोपत्र बजारमा गैरआवासीय नेपालीको प्रवेशले समग्र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन उपयुक्त हुने विषयलाई मध्यनजर गर्दै अध्ययन समिति गठन गरिएको बोर्डले जनाएको छ ।
समितिले गैरआवासीय नेपालीको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानुनबमोजिम आवश्यक व्यवस्थाका लागि अध्ययन प्रतिवेदनसहित नियमावलीको मस्यौदा तयार गर्नेछ ।
समितिले नियमावली कार्यान्वयनमा हुनसक्ने कठिनाइ पहिचान गरी त्यसका लागि आवश्यक कार्यविधि सिफारिस गर्नेछ । प्रस्तावित नियमावली कार्यान्वयनपश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भई मूल्य जोखिम कम हुनेलगायतका सुधार पुँजीबजारमा हुने अपेक्षा बोर्डको छ ।