जुस निर्यात १३ प्रतिशतले बढ्यो, ९ महिनामा साढे ४ अर्बको निकासी



काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा जुस निर्यात १३.३ प्रतिशतले बढेको छ । गत वर्षको ९ महिनाको तुलनामा जुस निर्यात १३.३ प्रतिशतले बढेको हो ।

नेपालले चालू आर्थिक वर्षको चैतसम्ममा ४ अर्ब ५८ करोड ३९ लाख ९० हजार रुपैयाँको जुस निर्यात गरेको छ । सो अवधिमा ५ करोड ६४ लाख ७३ हजार लिटर जुस निर्यात भएको छ ।

नेपालले गत वर्षको सोही अवधिमा ४ अर्ब ४ करोड ५१ लाख ८५ हजार रुपैयाँको जुस निर्यात भएको थियो । नेपालले गत वर्ष ६ अर्ब ७ करोड ८७ लाख रुपैयाँको जुस निर्यात गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब २२ करोड ९९ लाख रुपैयाँको ५ करोड ८० लाख २४ हजार लिटर जुस निर्यात गरेको थियो ।

आव २०७६/७७ मा ३ अर्ब ४३ करोड २२ लाख रुपैयाँको ४ करोड ७८ लाख ६१ हजार लिटर, आव २०७५/७६ मा ४ अर्ब ५७ करोड ३५ लाख रुपैयाँको ६ करोड ३४ लाख ८९ हजार लिटर र आव २०७४/७५ मा ४ अर्ब ७६ करोड ९ लाख रुपैयाँको ६ करोड ६६ लाख १७ हजार ६६५ लिटर निर्यात भएको थियो ।

कम्पनीमा डाबर इन्टरनेसनल लिमिटेडको ९७.५० प्रतिशत हिस्सा छ । डाबरले ‘रियल’ ब्रान्डमा ४० भन्दा बढी प्रकारका जुस उत्पादन गर्दै आएको छ ।

डाबर नेपालले गत वर्ष १३ अर्ब रुपैयाँको व्यापार गरेको थियो, जसमध्ये ६० प्रतिशत हिस्सा निर्यातको थियो । कम्पनीले उत्पादन गरेर निर्यात गर्ने वस्तुमध्ये जुसको हिस्सा निकै ठूलो छ ।

नेपालबाट निर्यात हुने जुसको अधिकांश हिस्सा डाबर नेपाल लिएको छ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले अधिकांश जुस भारत निर्यात गर्दै आएको छ ।

त्यसपछि बंगलादेशमा १४ लाख ७५ हजार रुपैयाँको ११ हजार ४ सय लिटर, अस्ट्रेलियामा २ लाख रुपैयाँको १४ सय ८० लिटर, अमेरिकामा १ लाख ७६ हजार रुपैयाँको १२० लिटर र दक्षिण कोरियामा १३ हजार रुपैयाँको २१ लिटर जुस निर्यात भएको छ ।

२३ करोडको जुस आयात

नेपालले ४ अर्बको जुस निर्यात गर्दा २३ करोड २४ लाख ७७ हजार रुपैयाँको १९ करोड ५४ लाख लिटर आयात गरेको छ । आयातित जुसबाट नेपालले १८ करोड ६४ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा सबैभन्दा बढी बंगलादेशबाट जुस आयात हुने गरेको छ ।

नेपालले ९ महिनाको अवधिमा बंगलादेशबाट ८ करोड ५७ लाख ९२ हजार रुपैयाँको ११ लाख १५ हजार लिटर जुस आयात गरेको छ । त्यस्तै, थाइल्यान्डबाट ७ करोड ३३ लाख ६८ हजार रुपैयाँको ४ लाख ९६ हजार लिटर र भारतबाट २ करोड ५० लाख रुपैयाँको ९० हजार लिटर जुस आयात भएको छ ।

त्यसैगरी, साउदी अरबबाट ८१ लाख ९४ हजार रुपैयाँको, अस्ट्रेलियाबाट ४६ लाख ७७ हजार रुपैयाँको र इन्डोनेसियाबाट ३१ लाख १० हजार रुपैयाँको जुस आयात भएको छ । नेपालमा इटली, कतार, कुवेतलगायतका देशबाट पनि जुस भित्रिने विभागको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु