सामसङ मोबाइल बेच्ने शेखर गोल्छाको कम्पनीले एकै वर्ष गर्‍यो ८ अर्बको व्यापार



काठमाडौं । नेपालमा सामसङ ब्रान्डको मोबाइल बेच्ने शेखर गोल्छाको हिम इलेक्ट्रोनिक्स प्रालिले एकै वर्षमा ८ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा ४ अर्ब ७० करोड ८० लाख, सन् २०१९ मा ५ अर्ब ९ करोड २० लाख र सन् २०१० मा ५ अर्ब ५१ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९८ मा स्थापना भएको कम्पनीले सामसङ ब्रान्डको मोबाइल र विद्युतीय घरायसी सामग्री आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । हिम इलेक्ट्रोनिक्स सामसङ ब्रान्डको मोबाइल र विद्युतीय सामग्री बिक्री गर्ने आधिकारिक कम्पनी हो ।

कम्पनीले बजाज, इन्डोसियन र ओश्रम ब्रान्डको विद्युतीय तथा साना उपकरण र टाइमेक्स घडी आयात गरी बिक्री गर्दै आएको छ । त्यस्तै हिमस्टार ब्रान्डको इलेक्ट्रोनिक्स सामग्री, घरायसी समग्री र बिजुलीको सामग्री जस्तै सोलार प्यानल र इन्भर्टरको एसेम्बल गर्दै आएको छ ।

गोल्छा अर्गनाइजेसनको लगानी रहेको कम्पनीमा शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व छ भने बाँकी हिस्सा उनका परिवारको छ ।

कम्पनीका देशभर ४ वटा वायरहाउस, ९ हजारभन्दा बढी साना तथा ठूला डिलर, १३ वटा शाखा र ४० वटा सर्भिस सेन्टर छन् । कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ६१ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको व्यापार भने यो वर्ष भने घटेको छ । चालू आर्थिक वर्षको ६ महिनामा माग कम हुँदा व्यापारमा उच्च गिरावट आएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु