वैदेशिक रोजगार बिमाबाट साढे दुई अर्ब संकलन, एक वर्षमा ४२.६६ प्रतिशतले बढ्यो



काठमाडौं । मुलुकभित्र रोजगारीको अवसर नपाउँदा युवाहरु वैदेशिक रोजगारीमा आकर्षित हुँदै गइरहेका छन् । यो क्रम दैनिक रुपमा बढ्दो देखिन्छ । नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढीरहँदा बिमा कम्पनीहरुमा वैदेशिक बिमाबाट संकलन हुने रकम पनि बढ्दै गएको देखिएको छ ।

वैदेशिक रोजगार बिमाबाट संकलन हुने रकम एक वर्षको अवधिमा ४२.६६ प्रतिशतले बढेको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगार बिमाबाट २ अर्ब ४७ करोड ९५ लाख ३३ हजार रुपैयाँ बिमाशुल्क संकलन भएको छ । यो कुल जीवन बिमा व्यवसायको २.३७ प्रतिशत हुन आउँछ ।

गत आवको चैतसम्ममा कम्पनीहरुले वैदेशिक रोजगारी बिमावापत १ अर्ब ७३ करोड ८१ लाख २१ हजार रुपैयाँ संकलन गरेका थिए । गत आवमा ६ वटा कम्पनीहरुले मात्रै वैदेशिक रोजगारी बिमालेख जारी गरेका थिए ।

समीक्षा अवधिमा कम्पनीहरुमा वैदेशिक रोजगार बिमालेखको संख्या ७१.१२ प्रतिशतले बढेर १४ लाख ५९ हजार ३१५ पुगेको छ । गत आवको चैतसम्ममा कम्पनीहरुमा वैदेशिक रोजगार बिमालेखको संख्या ८ लाख ५२ हजार ८२७ वटा थियो ।

वैदेशिक रोजगारीमा जाने प्रत्येक नेपाली नागरिकलाई वैदेशिक रोजगार बिमा अनिवार्य गरिएको छ । जसकारण विदेशिने हरेक नेपालीले अनिवार्य रुपमा यस्तो बिमा गर्नुपर्ने भएपछि बिमा कम्पनीहरुको व्यवसाय बढेको हो ।

वैदेशिक रोजगार म्यादी जीवन बिमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गरिएको थियो । जीवन बिमा व्यवसाय गर्ने जीवन बिमा कम्पनीहरुबाट प्राप्त कार्यविधि बमोजिम वैदेशिक रोजगार म्यादी जीवन बिमालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरुको सहमतिअनुसार पुल प्रणालीमार्फत बिमालेख जारी हुँदै आएको थियो । बिमा कम्पनीहरुले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार म्यादी जीवन बिमा जारी गर्दै आएका थिए ।

तर, नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बिमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयबमोजिम साउन महिनादेखि सबै बिमा कम्पनीहरुले वैदेशिक रोजगार बिमालेख जारी गर्न सक्नेछन् । सबै कम्पनीहरुले उक्त बिमालेख जारी गर्न सक्ने भएपनि १२ वटा कम्पनीले मात्रै बिमालेख जारी गरेको प्राधिकरणले जनाएको छ ।

सन नेपालले संकलन गर्यो सर्वाधिक बिमाशुल्क

प्राधिकरणका अनुसार बिमालेख जारी गरेका १२ मध्ये सबैभन्दा धेरै बिमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा सन नेपाल लाइफ परेको छ ।

यस अवधिमा इन्स्योरेन्सले ८९ करोड ६६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ । इन्स्योरेन्सले चैत महिनामा मात्रै यस बिमालेख जारी ५ करोड ९५ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीमा सक्रिय बिमालेखको संख्या ७ लाख ११ हवार ४५२ छ ।

यस्तै, धेरै बिमाशुल्क संकलन गर्ने कम्पनीको दोस्रो सूचीमा सूर्यज्योति लाइफ र तेस्रोमा आइएमई लाइफ परेका छन् । यस अवधिमा सूर्यज्योतिले ३६ करोड ४९ लाख रुपैयाँ र आइएमई लाइफले ३३ करोड ४६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन् ।

यस्तै, नेपाल लाइफले यस अवधिमा २७ करोड ९१ लाख रुपैयाँ, सिटिजन लाइफले १६ करोड ११ लाख रुपैयाँ, सानीमा लाइफले १५ करोड ६ लाख रुपैयाँ, रिलायबल नेपालले १२ करोड २१ लाख रुपैयाँ, नेशनल लाइफले १० करोड २२ लाख रुपैयाँ संकलन गरेका छन् ।

यस्तै, प्राधिकरणका अनुसार यस अवधिमा रिलायन्स लाइफले ४ करोड ११ लाख रुपैयाँ, प्रभु लाइफले २ करोड ५ लाख रुपैयाँ र सानीमा रिलायन्स लाइफले ६२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

सानीमा लाइफ र रिलायन्स लाइफको मर्जर अघि चैत ८ गतेसम्मको छुट्टाछुट्टै र मर्जरपछि सानीमा रिलायन्स लाइफले चैत महिनामा गरेको व्यवसायको विवरण समावेश गरिएको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु