जीवन बिमालेख संख्या २०.१४ प्रतिशतले बढ्यो, पहुँच ४४.५५ प्रतिशतमा पुग्यो



काठमाडौं । बिमाको पहुँच ४४.५५ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चैतसम्ममा बिमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमालेखसहित ४४.५५ प्रतिशत छ ।

गत आवको चैतसम्ममा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३७.३५ प्रतिशत थियो । बिमाको दायरामा आएको जनसंख्या प्रतिशत म्यादी र लघु म्यादी जीवन बिमालेखसहित ३९.७४ प्रतिशत छ । भने बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमालेख बाहेक १७.४३ प्रतिशत छ ।

कुल जीवन बिमालेख संख्या २०.१४ प्रतिशतले बढेर १ करोड ४१ लाख ६५ हजार ९९८ वटा छ । जीवन बिमा कम्पनीहरुमा वैदेशिक रोजगार बिमालेखको संख्या १४ लाख ५९ हजार ३१५ छ । जुन गत आवको सोही अवधिको तुलनामा ७१.१४ प्रतिशतले धेरै हो ।

निर्जीवन बिमालेखको संख्या भने घटेको छ । गत आवको सोही अवधिको तुलनामा निर्जीवन बिमालेखको संख्या ०.४२ प्रतिशतले घटर २१ लाख ६६ हजार ३२८ वटामा सीमित भएको हो ।

कुल बिमाशुल्क २.६७ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आवको चैतसम्ममा कम्पनीहरुले १ खर्ब ३१ अर्ब २४ करोड १३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका थिए ।

यस अवधिमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरुले ३० अर्ब १ लाख ४८ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन् । गत आवको यहि अवधिको तुलनामा जीवन बिमाशुल्क २.४१ प्रतिशतले र निर्जीवन बिमाशुल्क ४.५८ प्रतिशतले बढेको हो ।

कार्यालय संख्या ५.४८ प्रतिशत र कर्मचारी संख्या ३.३२ प्रतिशतले घट्यो

गत आवको चैतसम्मको तुलनामा बिमा कम्पनीहरुको कार्यालय संख्या र कर्मचारी संख्या घटेको छ । गत आवको यसै अवधिको तुलनामा शाखा कार्यालयको संख्या ५.४८ प्रतिशतले घटेर ३ हजार १५४ वटामा सीमित भएको छ । गत आवको यसै अवधिमा कम्पनीहरुमा शाखा कार्यालयको संख्या ३ हजार ३३७ थियो ।

यस्तै, कर्मचारीको संख्या ३.३२ प्रतिशतले घटेर ११ हजार ४५३ मा झरेको छ । गत आवको चैतसम्ममा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संख्या ११ हजार ८४६ थियो ।


क्लिकमान्डु