जीवन बिमा कम्पनीको व्यवसाय २ अर्बले बढेर १ खर्ब ४ अर्ब पुग्यो



काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालू आर्थिक वर्षको ९ महिना अर्थात तेस्रो त्रैमाससम्ममा १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २ अर्ब १९ करोड ४६ लाख रुपैयाँ अर्थात् २.१४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका थिए ।

कम्पनीहरुले प्रथम बिमाशुल्कबाट २१ अर्ब ५२ लाख रुपैयाँ र नवीकरणीय बिमाशुल्कबाट ३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ गरी सो रकम संकलन गरेका हुन् । प्राधिकरणकाअनुसार जीवन बिमा कम्पनीहरुमा सक्रिय बिमालेखको संख्या १ करोड ४१ लाख ६५ हजार ९९ वटा रहेको छ ।

सबैभन्दा धेरै नेपाल लाइफको, थोरै महालक्ष्मी लाइफको

जीवन बिमा कम्पनीमध्ये सबैभन्दा धेरै बिमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ । कम्पनीले यस अवधिसम्ममा २७ अर्ब २६ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा व्यसायको २६.०३ प्रतिशत हुन आउँछ ।

यस्तै, सबैभन्दा कम बिमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा भने महालक्ष्मी लाइफ इन्स्योरेन्स परेको छ । यस अवधिमा महालक्ष्मी लाइफले १ अर्ब १८ करोड रुपैयाँको व्यवसाय गरेको छ । यो कुल जीवन बीमा व्यवसायको १.१३ प्रतिशत मात्रै हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले यस अवधिमा १२ अर्ब ९४ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरको छ । नेशनल लाइफले ९ महिनाको अवधिमा ११ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १० करोड २२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब २० करोड र यूनियन लाइफले ५ अर्ब ७५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

यस्तै, एशियन लाइफले ५ अर्ब १९ करोड रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब १ करोड, मेट लाइफले ३ अर्ब ७ करोड, प्राइम लाइफले ३ अर्ब ३४ करोड र आइएमई लाइफले २ अर्ब ९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

सन नेपाल लाइफले २ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड, रिलायन्स लाइफले २ अर्ब ७४ करोड, गुराँस लाइफले २ अर्ब २४ करोड, सानिमा लाइफले १ अर्ब ७० करोड र प्रभु लाइफले १ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु