डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान



काठमाडौं । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आज (बुधबार) बाट लागू हुनेगरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो ।

लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले जानकारी दिए ।

उनले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेकाहरुले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताए ।

उनले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए । पहिला दरखास्त भरिसकेकाहरुको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उनले बताए ।

पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रवन्ध मिलाइएको छ ।

प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी गरिरहेको बताए ।

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।


क्लिकमान्डु