४.७५ मेगावाटको लोवर ठूलो खोला जलविद्युत आयोजना बन्दै
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा लोवर ठूलो खोला जलविद्युत आयोजना बन्ने भएको छ ।
विद्युत विकास विभागले सूचना प्रकाशित गर्दै ४.७५ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्न लागेको जानकारी दिएको हो।
चितवन इनर्जी लिमिटेडले उक्त जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादनका लाागि अनुमति पत्रका लागि दरखास्त दिएको विभागले जनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा बग्ने ठूलो खोलामा यो जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो ।
नदी प्रहावमा आधारित यो जलविद्युत आयोजनाको जडित क्षमता ४.७५ मेगावाट क्षमताको हुनेछ भने यसबाट वार्षिक सरदर ३१.५ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ । आयोजनाका मुख्य संरचनाहरु ठूलो खोलाको दाँया र बाँया दुवै किनारामा रहने सूचनामा जनाइएको छ ।
२०८२ साउन २० गते विद्युत उत्पादन हुने प्रस्ताव गरिएको यो आयोजनाबाट उत्पादित विद्युतलाई विद्यूत गृहको स्वीचयार्डमा जोड्न ५.७५ मेगाभोल्ट एम्पियरको पावर ट्रान्सफर्मरको प्रयोगबाट १६ किमि लामो १३२ किलोभोल्टको प्रसारण लाइनमार्फत टाना सबस्टेसनमा जोडिने छ ।