नेटवर्थभन्दा दोब्बर मूल्यमा सेयर निष्कासन गरेको घोराही सिमेन्टले यसरी थप्यो प्रिमियम
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले प्रति साधारण सेयर अंकित मूल्य १०० रुपैयाँमा उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रिमियम वापत ३०० सय थप गरी प्रतिसेयर ४०० सय र अन्य सर्वसाधरणले प्रति कित्ता १०० रुपैयाँ र प्रिमियम वापत ३३५ रुपैयाँ थप गरी प्रतिसेयर ४३५ रुपैयाँले सेयर निष्कासन गरेको छ ।
घोराही सिमेन्ट इण्डष्ट्री २०६४ साउन २१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर २०७७ फागुन २३ गतेबाट पब्लिक लिमिटेडमा परिणत भएको हो ।
क्लिङ्कर उत्पादन गर्ने उद्देश्यले स्थापना भएर ठूला उद्योगको रुपमा घोराही सिमेन्ट २०६५ भदौ ५ गते उद्योग विभागमा दर्ता भएको हो । २०६८ भदौ २९ गते घोराही सिमेन्ट इण्डष्ट्रीले उद्योग विभागबाट सिमेन्ट उत्पादन गर्ने उद्देश्य थप गराएको थियो ।
कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ८० र सर्वसाधारणको २० प्रतिशत रहेको छ । कम्पनीले प्रिमिय मूल्यमा सेयर निष्कासन गरेको छ । सर्वसाधारणले प्रतिकित्ता ४३५ रुपैयाँ तिर्नुपर्छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १० पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा २७९ रुपैयाँ ५९ पैसा पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ ।
अहिलेको अवस्था हेर्दा कम्पनीको नेटवर्थ भन्दा करिब दोब्बर मूल्यमा आईपीओमा लगानी गर्नुपर्ने बाध्यता छ ।
कम्पनीका अनुसार आव २०८०/८१ मा प्रतिसेयर नेटवर्थ २९५ रुपैयाँ ९२ पैसा, आव २०८१/०८२ मा ३२० रुपैयाँ ५० पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २०७९/८० को पुस मसान्तसम्म ० रुपैयाँ ५० पैसा रहेकामा चालु आवको अन्त्यसम्ममा ११ रुपैयाँ ६५ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
कम्पनीका अनुसार आव २०८०/८१ मा प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३३ पैसा र आव २०८१/०८२ मा २४ रुपैयाँ ५८ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
लगानीकर्तालाई उच्च प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको कम्पनीले संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा संचालन भइरहेको जनाएको छ । कम्पनी आव २०७८/७९ मा २१ करोड ६५ लाख ४२ हजार रुपैयाँ नाफामा रहेको छ ।यस्तै संस्थाले सम्पूर्ण दायित्वभन्दा खुद सम्पत्ति (नेटवर्थ) बढी रहेको जनाएको छ । आव २०७८/७९ मा २२६.६१ रुपैयाँ नेटवर्थ रहेको जनाएको छ ।
धितोपत्र बोर्डको निर्णयानुसार कम्पनीको विगत वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्कनका आधारमा लगानीकर्तालाई प्रिमियम मूल्य लिएको जनाएको छ । पूँजीकृत भएको आम्दानी २९१ रुपैयाँ ६३ पैसा, सिमेन्ट उद्योगको मूल्य आम्दानी अनुपातको आधारमा सापेक्ष मूल्याङ्कन ९७६ रुपैयाँ ५५ पैसा, डिष्काउन्टेड नगद प्रवाह ४९८ रुपैयाँ ६२ पैसा रहेको छ । यी लगायतका कारण कम्पनीले लगानीकर्तालाई प्रिमियम मूल्यमा सेयर बेच्न लागेको जनाएको छ ।
घोराही सिमेन्ट इण्डष्ट्रीको ठूला सेयरधनी १८ जना रहेका छन् । जसमा पुरुषोत्तम लाल संघईको ३२ लाख ४१ हजार ३५० कित्ता, सुभाष चन्द्र संघईको १९ लाख ४६ हजार ७१० कित्ता, विरेन्द्र कुमार संघईको ३९ लाख ४० हजार १२५ कित्ता, रामचन्द्र संघईको १९ लाख ४६ हजार ७१० कित्ता, गोविन्द लाल संघईको ३९ लाख ४० हजार १२५ कित्ता, शैलेश संघईको १९ लाख ९३ हजार ४१५ कित्ता, हर्षवर्धन संघईको १९ लाख ९३ हजार ४१५ कित्ता, आदित्य संघईको ३ लाख ४९ हजार ३८६ कित्ता सेयर स्वामित्व रहेको छ ।
अदिती चोखानिको ३ लाख ४९ हजार ३८८, निलम संघई सुरेकाको २५ लाख ४२ हजार १८, अंजु संघई वंशलको १५ लाख ८८ हजार ७६१ कित्ता, त्रिलोक चन्द्र अग्रवालको १२ लाख ६२२ कित्ता, तुलसी राम अग्रवालको ११ लाख ८१ हजार ५६५ कित्ता, अशोक कुमार अग्रवालको ८ लाख ५१ हजार २३५ कित्ता, अनुज अग्रवालको ७ लाख ९४ हजार ६३ कित्ता, जगदिश प्रसाद अग्रवालको ११ लाख ९४ हजार २७० कित्ता, निकुञ्ज अग्रवालको ७ लाख ७५ हजार ५ कित्ता, बिशाल अग्रवालको ७ लाख ८१ हजार ३५७ कित्ता सेयर स्वामित्व रहेको छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा पुरुषोत्तम लाल संघई रहेका छन् भने सञ्चालकमा गोविन्दलाल संघई, आदित्य संघई, हर्षबर्धन संघई र त्रिलोक चन्द्र अग्रवाल रहेका छन् ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालक आदित्य संघईलाई पारिश्रमिक बापत ३ लाख ६३ हजार ६३६ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै कार्यकारी निर्देशकलाई एक वर्षमा ९० लाख ११ हजार ५८ रुपैयाँ ५८ रुपैयाँ, तलब दिने गरेको छ । कार्यकारी निर्देशक सत्यविर प्रसाद गुप्ताले २०७९ पुस ३० गते राजिनामा दिएको भएर माघ १ गतेदेखि देवेन्द्र सिन्हालाई नियुक्त गरेको जनाएको छ ।
कम्पनीले १३ वटा बैंकबाट ३ अर्ब ४१ करोड ७९ लाख ८९ हजार रुपैयाँ कर्जा लिएको छ । कम्पनीले सर्वसाधारणलाई प्रिमियममा सेयर निष्कासनबाट प्राप्त रकम बैंकको कर्जा तिर्ने जनाएको छ ।