रवि लामिछानेका गाडी चालकको उपचारका क्रममा निधन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।

लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो साढे एक बजे निधन भएको हो ।

वैशाख १० को उपनिर्वाचन अघि वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएका थापालाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।

टाउकोमा गहिरो चोट लागेका उनलाई वैशाख ५ गते थप उपचारका लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको थियो ।


क्लिकमान्डु