‘प्रधानमन्त्री प्रचण्डलाई १० प्रश्न’



काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले जेठ १ गतेदेखि शुरु गर्न लागेको अभियान÷आन्दोलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोधिने १० वटा प्रश्न सार्वजनिक गरेको छ । यी प्रश्नहरुको जबाफ माग्दै देशव्यापीरुपमा हस्ताक्षर संकलन, सार्वजनिक सुनवाई लगायत कार्यक्रम आयोजना गरिने छ ।

यस्ता छन् प्रश्नहरु

१, दशक लामो सशस्त्र द्वन्दका क्रममा २०५२-६३ नेकपा माओवादीले अन्तर्राष्ट्रिय मानवीय कानूनले युद्ध अपराध ठहर गरेको बालसैन्यको प्रयोग गरेको हो कि होइन ?

२, २०६३ जेठ ११ को युद्ध विरामपछि पनि माओवादीले छलपूर्वक दशौं हजार नागरिकलाई लडाकुकारुपमा भर्ति गरेको हो कि होइन ?

३, माओवादीको लडाकु संख्याबारे २०६४ पुस तेस्रो साता शक्तिखोर शिविरमा प्रचण्डले “हामी सात हजार र आठ हजारको बीचमा पुगिसकेका थियौँ,…’ हामीले क्यान्टोन्मेन्टमा ३५ हजार लगेर राखिदिएको,… यो हो नि साँचो कुरा । अरुलाई पो हामीले भन्नु हुँदैन ।’ भनेको हो कि होइन ?

४, ३२ हजार २ सय ५० लडाकु शिविरमा प्रवेश गराएता पनि नेकपा माओवादीले हतियार भने ३४ सय ७५ मात्र बुझाएको र बाँकी हतियारहरु खोलाले बगायो भनेर प्रचण्डले भनेको हो कि होइन ?

५, वि.सं. २०६८-६९ डा. बाबुराम भट्टराई प्रधानमन्त्री छँदा माओवादीले लुकाएका घातक हतियारहरु विदेशी एजेन्सीलाई बेच्ने प्रस्ताव प्रचण्डले गरेको हो कि होइन ?

६, माओवादी लडाकुको भत्तास्वरुप माओवादी नेताले एकैपटक बुझेको करोडौ रुपैँयाको चेकको हिसाबकिताब अझै बुझाउन नसकेको हो कि होइन ?

७, शिविरमा रहेका माओवादी लडाकुहरुको भत्तामा गोलमाल भएको हो कि होइन ?

८, माओवादीको हिंसात्मक जनयुद्धका दौरान मारिएकामध्ये ५ हजारको जिम्मा म लिन्छु भनेर प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएको हो कि होइन ?

९, द्वन्दकालिन घटनाका सम्बन्धमा सर्वोच्च अदालतको एउटा आदेश/टिप्पणीलाई लिएर प्रचण्ड/सत्तारुढ दलले न्यायालयलाई धम्क्याएको हो कि होइन ?

१०, सत्र वर्षसम्म संक्रमणकालीन न्याय प्रक्रियालाई अलमल्याएको/तुहाउन खोजेको हो कि होइन ?


क्लिकमान्डु