प्रिमियम मूल्यमा घोराही सिमेन्टले निष्कासन गर्यो आईपीओ



काठमाडौैं । घोराही सिमेन्टले आजदेखि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले पहिलो चरणमा स्थानीयलाई ३ लाख ९७ हजार १९० कित्ता सेयर र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले सेयर निष्कासन गरेको हो ।

उक्त उद्योग दाङ जिल्लाको घोराही उप-महानगरपालिका–१, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, दाङ जिल्लाको बंगलाचली गाँउपालिका–३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका–३ र ४ का बासिन्दाहरुको लागि निष्कासन गरिएको हो ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । रोजगारीका लागि विदेशमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७ लाख ५४ हजार ६६१ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित स्थानीयले जेठ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली जेठ २ गतेभित्र आवेदन दिनसक्ने छ ।

यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । आयोजना प्रभावित स्थानीयले घोराही सिमेन्ट इण्डष्ट्री, हिमालयन, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई, सिटिजन्स, प्रभु, कुमारी, एनएबि, सानिमा र ज्योति विकास बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु