अमेरिकामा भण्डारीको साइनसिक्स व्यवसायलाई ‘एक्सपोर्टर अफ द इयर अवार्ड’, ह्वाइटहाउसमा गरियो सम्मान



काठमाडौं । नेपाली मूलका व्यवसायीले अमेरिकामा एक्सपोर्टर अफ दि इयर अवार्ड प्राप्त गरेका छन् । नेपाली मूलका राज भण्डारीको साइनसिक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो । अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसिक्सलाई उक्त अवार्डका लागि छनोट गरेको हो ।

भण्डारी सञ्चालक रहेको कम्पनीको नर्थ क्यारोलाइनमा मुख्यालय रहेको छ भने मिनेसोटामा उत्पादन कारखाना रहेको छ ।

अमेरिकी सरकारले साना व्यापार सप्ताह अन्तर्गत विजेताहरुलाई पुरस्कार वितरण गरेको हो । साइनसिक्स र अन्य राष्ट्रिय साना व्यापार पुरस्कार विजेताहरूलाई अप्रिल ३० देखि मे २ सम्म वाशिंगटन डीसीमा सम्मानित गरिएको हो । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसिक्स टोलीलाई बधाइ दिए ।

साइनसिक्सले एसबीएका ट्रेड उपकरणहरूको व्यापार वृद्धि र विविधीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारका अन्य धेरै फाइदाहरू प्राप्त गर्न काम गरेको एसबीएककी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताइन् ।

उनीहरुले उपलब्ध उपकरण र स्रोतहरू विश्वव्यापी रूपमा आफ्नो नवीन व्यवसाय बढाउनको लागि प्रयोग गरेको एसबीएको भनाइ छ । कम्पनीको कडा परिश्रम र लगनले उनीहरूलाई स्वदेशी र विदेशमा सफलता पाउन प्रेरित गरेको तथा एसबीएको स्टेप अनुदान कार्यक्रमबाट प्राप्त रकमले उनीहरूको अन्तर्राष्ट्रिय बिक्री बढाउन भूमिका खेलेको एसबीएका अधिकारीहरुको भनाइ छ ।

सन् १९८५ मा स्थापना भएको साइनसिक्सले हाइ पर्फमेन्स लिक्वीड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री भागहरू निर्माण गरिरहेको छ । जसको प्रयोगले औषधि परीक्षण, प्रदूषण विश्लेषण, कीटनाशक पत्ता लगाउने छ। कम्पनीको नर्थ क्यारोलिनामा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको छ ।


क्लिकमान्डु