अर्थतन्त्र गतिशील हुने अपेक्षा छ: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

महासंघका अध्यक्ष चन्द्र ढकालले शुभकामना दिँदै श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धी र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक क्षणको सम्झना स्वरुप मनाउँदै आएको मे दिवसले सबैलाई संवाद र सहकार्यको माध्यमबाट सम्बन्ध विकास गर्न प्रेरित गरेको विश्वास लिएको जनाएका छन् ।

‘हामी बीचको सम्बन्धमा सुधार हुँदै गएको छ । यसलाई सकारात्मकरुपमा लिएका छौं’ अध्यक्ष ढकालले शुभकामना सन्देशमा भनेका छन् ‘सम्बन्धलाई बलियो बनाउन सहकार्य र सहयात्रामा जोड दिन चाहान्छु ।’

अहिले सबै अनपेक्षित कठिन अवस्थामा रहेको स्मरण गराउँदै कोभिड महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा परेको प्रभावबाट बाहिर आउन लिइएको नीतिसँगै अर्थतन्त्र गतिशिल हुने अपेक्षा रहेको उल्लेख गरेका छन् ।

विश्वव्यापी रुपमै देखिएको आर्थिक मन्दीले नेपालको अर्थतन्त्र, उद्योग व्यवसाय र श्रम क्षेत्र अप्ठेरो स्थितिमा पुगेको जारी सन्देशमा उल्लेख छ ।

उद्योग व्यवसाय संचालन र यसबाट रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्याको सामना गर्नपर्ने यो कठिन समयमा रोजगारदाता र ट्रेड यूनियन बीच अझ बढी समझदारी सहकार्यको लागि अपिल गरेका छन् ।

यस्तै रोजगारदाता परिषदका सभापति श्रेष्ठले शुभकामना सन्देशमा विभिन्न आरोह अवरोह पार गर्दै नेपालको श्रम सम्बन्ध सहज बन्दै गएको जनाएकी छिन् ।

सम्बाद र सहकार्यको थालनीबाट श्रम सम्बन्ध सुधार र श्रम विवादको संख्यामा निकै कमी आएको सन्दर्भमा दिगो औद्योगिक शान्ति स्थापनामा जोड दिन चाहेको सन्देशमा उल्लेख छ ।

‘कोरोना महामारीबाट भएको नोक्सानी र परेको प्राभवबाट चाडो क्षतिपूर्ति प्राप्त गर्न सरकारले लिएका नीतिसँगै सुधारको अपेक्षा गरेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै आएको आर्थिक मन्दिको कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आई मुलुक आर्थिक संकटतर्फ उन्मुख छ भन्ने कुराले हामी चिन्तित भएका छौं’ जारी सन्देशमा भनिएको छ, ‘यसबाट आउने सम्भावित समस्या र चुनौतीको सामना गर्न थप समझदारी र सहयोगको आवश्यकतामा जोड दिदै सम्पूर्ण श्रमिक दिदी बहिनी र दाजूभाईको समुन्नतिको कामना गर्दछु ।’


क्लिकमान्डु