१८ अर्ब लगानीमा सेती नदी-३ आयोजना बन्ने, प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ
काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा १८ अर्ब लगानीमा सेदी नदी-३ (एसआर-३) अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । चिलिमे जलविद्युत कम्पनीले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ९ मा पर्ने क्षेत्रमा १७ अर्ब ८८ करोड ८६ लाख ८० हजार रुपैयाँ लागतमा आयोजना निर्माण गर्ने भएको हो ।
कम्पनीले आयोजनाको निर्माण कार्य अगाडि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको छ । उक्त प्रतिवेदनअनुसार सेती नदी आयोजनाबाट ८६ मेगावाट विजुली उत्पादन गर्नेछ ।
त्यस्तै, प्रतिवेदनमा प्रतिमेगावाट विजुली उत्पादन गर्न २२ करोड ८ लाख ५० हजार रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । साथै, कम्पनीले प्रतिफलको आन्तरिक दर १२० प्रतिशत तोकेको छ र
कम्पनीले उक्त आयोजना ४ वर्ष ३ महिनामा सम्पन्न गर्ने योजना बनाएको छ । जसमा आयोजनाको भुक्तानी अवधि सामान्य ७ वर्ष र छुट गरेर १५ वर्ष तोकेको छ । आयोजनाको वेयर स्थलसम्मको जलाधा क्षेत्र २२२६५.४७ वर्गकिलोमिट रहेको छ भने विद्युत गृहसम्मको जलाधार क्षेत्र २३४५.०४ वर्गकिलोमिटर छ ।
प्रतिवेदनमा प्रसारण लाइन १२ किलोमिटर लम्बाई र १३२ केभी डबल सर्किट क्षमता रहेको उल्लेख छ । आयोजनाको जोड्ने स्थान ४००/१३२ बझाङ सवस्टेशन, कैलास रहेको छ ।
आयोजनाले ३ वटा टर्वाइन निर्माण गर्नेछ । जसमा ठाडो फ्रान्सिस प्रकारका ३ वटा टर्वाइन रहनेछ । उक्त प्रत्येक टर्वाइनको क्षमता २९ मेगावाट रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, कार्यकुशलता ९२ प्रतिशत रहेको जनाएको छ ।
उक्त आयोजनाबाट वार्षि ४८२.५५६ गिगावाट आवर विद्युत उत्पादन गर्ने भएको छ । सुख्खा मौसममा अफ पिक समयमा वार्षिक १३३.२८७ गिगावाट आवर र सुख्खा मौसमको पिकिङ समयमा वार्षि १४.६६६ गिगावाट आवर विजुली उत्पादन गर्नेछ । साथै, वार्षिक मौसमको अवधिमा ३३४.६०२ गिगावाट आवर विजुली उत्पादन गर्ने कम्पनीको भनाइ छ ।