राष्ट्र बैंकमा अर्ब डलर बढीका दुई काण्डः गभर्नरको राजीनामादेखि बर्खास्ती, डेपुटी गभर्नरको आत्महत्या



काठमाडौं । आज नेपाल राष्ट्र बैंकको ६८औं वार्षिकउत्सव । वि.सं. २०१३ सालमा स्थापना भएको केन्द्रीय बैंकको दुईवटा घटनाको बारेमा हामी चर्चा गर्न लागेका छौं ।

संयोग नै मान्नुपर्छ दुबै घटना अमेरिकी डलरसँग सम्बन्धित छन् । र, दुबैजना गभर्नर अधिकारी थरका छन् ।

डलर प्रकरणका कारण तत्कालीन दरबारले तत्कालीन गभर्नर कल्याणबिक्रम अधिकारीलाई पदबाट राजीनामा गर्न लगायो भने अहिलेका गभर्नर महाप्रसाद अधिकारीलाई पनि शेरबहादुर देउवाको क्याविनेटले बर्खास्त गर्यो ।

आज हामी यी दुई घटनाको बारेमा जानकारी गराउँदै छौं ।

पहिलो,

२०३६ सालमा नेपाली चलचित्र रिजिल भयो, ‘सिन्दुर’ । सिन्दुरकी नायिका थिइन्, भारतीय अभिनेत्री मिनाक्षी आनन्द ।

नेपालमा ५२ दिनसम्म चलेर सुपरहिट भएको उक्त चलचित्रकी नायिका मिनाक्षीको विवाह नेपाली नागरिक किराँतनरसिंह राणासँग भएको थियो ।

उनले ‘सिन्दुर’बाहेक ‘जीवनरेखा’, ‘जुनी’ जस्ता नेपाली चलचित्रमा समेत काम गरिसकेकी थिइन् ।

२०४० सालतिर उनै मिनाक्षी आनन्द भारतीय व्यवसायीको एउटा समूह बोकेर राष्ट्र बैंक पुगिन् ।

उनलाई त्यहाँसम्म पुर्‍याउन सहयोग गर्ने राष्ट्र बैंककै कर्मचारी थिए । उक्त समूहमा भारतीय नागरिकहरु पीजी देसाई, विजय देसाई, एम प्रधानलगायतका व्यक्ति पनि थिए ।

त्यो समूहले राष्ट्र बैंकसमक्ष एउटा प्रस्ताव अघि सार्‍यो, ‘नेपालमा विदेशबाट १ अर्ब अमेरिकी डलर ऋण ल्याउने त्यो पनि ४ प्रतिशतमा ब्याजदरमा । र, ८ प्रतिशत ब्याजदरमा लगानी गरेर ४२ करोड नाफा कमाउने ।’

देसाईहरुको समूहलाई नेपालका उच्चपदस्थ अधिकारीसँग परिचित गराउन मध्यस्तकर्ताको भूमिकामा मिनाक्षी आनन्द थिइन् ।

अभिनेत्रीका रुपमा नेपालमा परिचित मिनाक्षीको प्रयोग सहजताका लागि गरिएको प्रस्ट थियो ।

उक्त समूहले सुरुमा ३ अर्ब अमेरिकी डलर ल्याउने प्रस्ताव गरेको थियो । त्यसबेला प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र अर्थमन्त्रीमा डा. प्रकाशचन्द्र लोहनी थिए ।

राष्ट्र बैंकको गभर्नर कल्याणविक्रम अधिकारी थिए । गभर्नर अधिकारी राजा विरेन्द्रका विश्वास पात्र पनि थिए । उसो त अधिकारीको सम्बन्ध दरबारसँग राजा महेन्द्रकै पालादेखि थियो । कल्याणविक्रम अधिकारीका बुवा वोधविक्रम अधिकारीले महेन्द्रलाई नेपाली भाषा पढाएका थिए । राजा वीरेन्द्रको विश्वास पात्र भए पनि कल्याणविक्रम अधिकारीलाई दरबारको भूमिगत गिरोहले पदबाट हटाएको थियो ।

पञ्चायत कालमा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई भेटेर मात्रै काम हुँदैन भन्ने राणा परिवारसँग विवाह गरेकी मिनाक्षी आनन्दलाई राम्रोसँग थाहा थियो ।

त्यसैले मिनाक्षी र देसाईको समूह अधिराजकुमार ज्ञानेन्द्रलाई भेट्न पुग्यो । राजा महेन्द्र हुँदासम्म दरबारमा गुट थिएन । तर, वीरेन्द्रको पालामा गुट थियो । भाइहरु ज्ञानेन्द्र र धीरेन्द्रका साथै रानी एश्वर्यको छुट्टाछुट्टै गुट थियो ।

गुट मातहत राजाका स्वकीय सचिवहरु थिए । जसलाई पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले ‘भूमिगत गिरोह’को नाम दिएका थिए। उक्त समूह अधिराजकुमार ज्ञानेन्द्र हुँदै रानी ऐश्वर्यसम्म पुग्यो । रानी ऐश्वर्यले प्रस्तावमा सहमति जनाएपछि १ अर्ब डलर ल्याउने प्रक्रिया मन्त्रिपरिषद्ले पारित गर्ने नै भयो ।

त्यो समयमा १ अर्ब डलर विदेशी मुद्रा सञ्चितिका लागि निकै ठूलो रकम थियो । उक्त रकमले विकासका कैयन् कामहरु एकैसाथ हुन सक्दथे । कार्यकाल सकिन लागेका गभर्नर अधिकारीको पदावधि डलरको कुरा आएपछि थप गरियो ।

देसाई समूहले त्यसबेला नेपालले लिएभन्दा सस्तो ब्याजदरमा पैसा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । देसाईको समूहले नेपाल सरकारलाई १ अर्ब ऋण ४ प्रतिशत ब्याजदरमा ल्याइदिने र ८ प्रतिशत ब्याजदरमा लगानी गरेर ४२ करोड फाइदा लिने महत्वाकांक्षी योजना सुनाएको थियो ।

तर, देसाई समूहको भने नेपालमा पैसा ल्याउने कुनै योजना नै थिएन । उनीहरुको योजना राष्ट्र बैंकबाट पैसा पाउन अख्तियारी लिने र विदेशी कुनै संस्थाबाट पैसा लिएर ठग्ने योजना थियो ।

गभर्नर कल्याणविक्रम अधिकारीले देसाई समूहको योजनामा शंका लागेर तत्काल सहयोग नगर्ने नीति लिए । राजा वीरेन्द्रको विश्वास पात्रका रुपमा त्यसलाई रोक्न सक्ने हैसियत अधिकारीमा थियो ।

राष्ट्र बैंकका पूर्वगभर्नर हरिशकंर त्रिपाठी त्यसबेला कार्यकारी निर्देशक पदमा कार्यरत थिए ।

उनले सो घटना स्मरण गर्दै भनेका छन्, ‘गभर्नरसा’बले मलाई मिनाक्षीसँग भेटेर कुरा गर्न अह्राउनुभयो । मैले राष्ट्र बैंकका लागि एउटा डकुमेन्ट्री विज्ञापन बनाउने बहाना झिकेर कुराकानी गरेँ । उनी अलि अलमलिइन् । त्यस क्रममा मिनाक्षी देसाई समूहबाट प्रयोग भई आएको अनुमान लगाउन मलाई गाह्रो भएन । मैले सबै कुरा गभर्नरलाई सुनाउँदा उहाँ अलि झस्किनुभयो ।’

राष्ट्र बैंकले अमेरिका र बेलायतबाट प्रकाशित हुने आर्थिक पत्रिकाहरु गभर्नरसहित वरिष्ठ कर्मचारीलाई पढ्न व्यवस्था गरेको थियो । त्यसबेला गभर्नर अधिकारीसमक्ष अविकसित देशहरुमा ठगहरुले ऋणबापत विदेशी मुद्रा ल्याइदिने काम गरेर ठगी गरेको समाचार देखाएका थिए । जुन काम नेपालमा मिनाक्षी आनन्द र देसाईको समूहले गर्ने प्रयास गरिरहेको थियो ।

ठगीको योजना थाहा पाएर सफल हुन नदिएका गभर्नर अधिकारी भने त्यसपछि पदमा बस्न सकेनन् । राजीनामा दिनुपर्ने भयो ।

वरिष्ठ पत्रकार भैरव रिसाल त्यसबेला राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत थिए । उक्त घटना स्मरण गर्दै रिसालले हिमाल म्यागेजिनमा लेखेका छन्, ‘राससको कार्यालयमा कार्यरत रहेका बेला टेलिफोनको घण्टी आयो । हत्त न पत्त टेलिफोन उठाउने मेरो बानी, ‘नमस्कार ! म भैरव रिसाल’ भनें । फोन रहेछ राजदरबार प्रमुख संवाद सचिवालयको । ‘एउटा समाचार छ, टिपौं न’ भने ।

‘कल्याणविक्रम अधिकारीले नेपाल राष्ट्र बैंकको गभर्नर पदबाट राजीनामा दिएको छोटो समाचार रहेछ, मैले टिपें,’ उनले भनेका छन्, ‘फोन राखेपछि समाचार पढ्छु त भाषा मिल्दैन, कल्याणविक्रम जस्तो विशिष्ट मान्छेले दिएको राजीनामाको भाषा मिल्दैन । यो त भएन, एकपल्ट सोध्नुपर्‍यो, सोधेर के बिग्रिन्छ र ! शिष्टाचारपश्चात् ‘तपाईंले दिएको राजीनामाको भाषा मिलेन’ भन्दा कल्याणविक्रमले कत्ति पनि नहड्बडाई धैर्यसाथ भने, ‘पढ्नोस् त कहाँ के मिलेन ?’

मैले त्यो खबर विस्तारै पढें । उनले उस्तै धैर्यसाथ सुनेर एकपल्ट फेरि पढ्न लगाए । मैले फेरि विस्तारै पढें । ततपश्चात् कल्याणविक्रमजीले ‘यस्तै हो, जस्तो छ त्यस्तै दिनुहोला,’ भने । राजीनामा उनको, राससको मात्र किन टाउको दुखाइ ! सरोकारवालाले नै मिलेको छ भनेपछि त्यस्तै समाचार दियौं ।

पछि थाहा भो, कल्याणविक्रम अधिकारीले गभर्नर पदबाट राजीनामा दिएको होइन रहेछ । विचरा उनलाई मैले फोन गर्दासम्म पनि राजीनामाबारे थाहै रहेनछ ।

पदबाट राजीनामा गरेपछि उनले प्रेसको सहयोगमा डलर काण्डको बारेमा जानकारी गराएका थिए । गभर्नर अधिकारीले तत्कालीन विदेशी विनिमय विभागका प्रमुख मुकुन्दप्रसाद घिमिरे र उनका तत्कालीन सहायक कृष्णबहादुर मानन्धरलाई मुम्बई पठाएर देसाई समूहको बारेमा अध्ययन गर्न पठाएका थिए ।

राष्ट्र बैंकका कामु गभर्नरसमेत रहेका मानन्धर त्यो घटना स्मरण गर्दै भन्छन्, ‘हामीहरु मुम्बई गएर देसाईको घर हेरेपछि मात्र उनीहरु ठग रहेको पुष्टि भयो, १ अर्ब डलर नेपालमा ल्याउने भन्दै शक्तिकेन्द्रनजिकका देसाई, ट्याक्सीसमेत छिर्न नसक्ने घरमा बसेका थिए।’

पूर्वसूचनाबिना मुम्बई पुगेकोमा देसाई मानन्धर र घिमिरेसँग रिसाएका थिए ।

‘१ अर्ब डलर ल्याइदिनसक्छु भन्ने व्यक्तिको बसाइ पनि मेल खाने थिएन, मात्र नेपालमा शक्तिकेन्द्र प्रयोग गरेर ठग्न सकिने दिमाग मात्र लगाएका थिए,’ मानन्धरले घटना स्मरण गर्दै भने ।

मानन्धरको टोलीले मुम्बईमा भएको घटनाको विस्तृत विवरण बनाएको थियो ।

विवरण बनाउनुअघि नै डेपुटी गभर्नर केशवनाथ शर्माले राष्ट्र बैंकको लेटरप्याडमा देसाईको समूहलाई ऋण ल्याउने अधिकारपत्र र विश्व भ्रमण गर्न १५ हजार अमेरिकी डलर निकासा गरेका थिए । वाणिज्य बैंकका सञ्चालकसमेत रहेका शर्माले थप १० हजार डलर लिएका थिए ।

देसाईको समूह पत्र लिएर स्विट्जरल्यान्डसमेत पुगेको थियो । तर, रकम निकासाका लागि स्विस बैंकले ‘कन्फरमेसन लेटर’ मागेको थियो । नेपालमा रहेका गभर्नर अधिकारीले देसाईको समूहलाई रकम निकासा नदिनका लागि पत्र लेखे । यस्तै पत्र विश्वका अन्य केन्द्रीय बैंकलाई लेखेपछि देशाई समूहले १ अर्ब डलर लिएर भाग्ने काम गर्न भने सकेन ।

गभर्नर अधिकारीले पद गए पनि तत्कालीन पत्रिकामा सूचना दिएर १ अर्ब डलर काण्डको बारेमा जनतालाई अवगत गराएका थिए । देसाई समूह ठग भएको पुष्टि भएपछि कारबाही भने गभर्नर अधिकारीले पदबाट राजीनामा गर्नुपर्ने भयो ।

यसरी एकमुष्ट १ अर्ब डलर लिएर भाग्ने देशाईको दुष्प्रयास विफल भए पनि राष्ट्रको ठूलो धनराशि भने सो समूहले खाएरै छाड्यो । अझ राष्ट्र बैंक र गभर्नरका तर्फबाटै स्विस बैंकलाई पत्र दिइएको भए ठूलै दुर्घटना हुन्थ्यो । त्यसो नभएकाले ठूलो दुर्घटना टर्‍यो। तर, त्यस काण्डमा २५ हजार अमेरकिी डलर र करिब २५ लाखजति नेपाली रुपैयाँ भने स्वाहा भयो ।

प्रमुख शक्तिकेन्द्रको प्रभावकै कारण त्यस समूहलाई मात्र होइन, सहयोगी अन्य कसैलाई पनि रकम असुलउपरका निम्ति केही कारबाही भएन । कल्याणविक्रम अधिकारी राजीनामाको कारबाहीमा परे, अरू सबै चोखिए ।

डलरकाण्ड घटना घटेको केही समयपछि केशवनाथ शर्माले आत्महत्या गरे । उनले आत्महत्या के कारणले गरे भन्ने विषय भने रहस्यमै रह्यो । डलर काण्डकै कारण शर्माले आत्महत्या गरेको त्यो बेला राष्ट्र बैंकमा काम गर्नेहरु बताउँछन् ।

मिनाक्षी आनन्द जोडिएको घटना नेपालको इतिहासमा १ अर्ब डलर काण्डको रुपले चिनिन्छ ।

दोस्रो,

हालसालै मात्र राष्ट्र बैंकमा भएको अर्को डलर प्रकरणबारे तपाईहामीमध्ये धेरै जानकार छौं ।अमेरिकाबाट शंकास्पदरुपमा झन्डै ५० लाख अमेरिकी डलर नेपाल अधिकांश भित्रिएको र केही भित्रिने प्रक्रियामा थियो । विवादास्पद व्यवसायी पृथ्वीबहादुर शाहको उक्त पैसा राष्ट्र बैंकले रोक्यो ।

अछामको सामान्य परिवारमा जन्मिएका शाहले अस्वााविक कारोबार गरेका थिए । २०७४ सालयता शाहको समूहले अमेरिकाका विभिन्न व्यक्तिसँग ठगी गरेर दर्जन बढी कम्पनीको नाममा भित्र्याएको रकम कालोधन भएको भन्दै राष्ट्र बैंकले नेपालका बैंकहरुमा जम्मा भइसकेको रकम पनि झिक्न दिएन ।

तर, तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग सेटिङ मिलाएर शाहले नेपालमा कालोधन ल्याएका थिए । अर्थमन्त्री शर्मा फ्रन्टलाइनमा शाहलाई बचाउन लागे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई उक्त पैसा शाहलाई झिक्न दिन तारन्तार दबाब दिए । तर, गभर्नर अधिकारी टसमस भएनन् ।

आफूले भनेको नमानेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत कन्भिन्स गराएर ०७८ चैत २५ गते बसेको मन्त्रिपरिषदको बैठकले सरकारलाई असहयोग गरेको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्यो । सरकारले कार्यक्षमता अभाव भएको र बैंकिङ प्रणालीमा नोक्सानी पुग्ने काम गरेको आरोप लगाउँदै अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेको थियो । अधिकारीले सरकारको निर्णयविरुद्ध गत वैशाख ५ गते सर्वाेच्च अदालतमा रिट दायर गरे । अदालतको आदेशमा केही हप्तापछि गभर्नर काममै फर्किए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शंकास्पद रकम भित्र्याएको आरोपमा शाहलाई ०७९ पुस २२ पुसमा पक्राउ गर्यो । अनुसन्धानपछि शाहसहितको समूहविरुद्ध ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधको कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भयो । उनी अहिले पनि थुनामै छन् । तर, शंकास्पद कारोबार गर्ने शाहलाई संरक्षण गर्ने मन्त्री जनार्दन शर्मालाई भने कुनै पनि कारबाही भएको छैन ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा बाहिरका व्यक्तिलाई ल्याएर करको दर हेरफेर गरेको अभियोगमा अर्थमन्त्री शर्मामाथि छानविन भयो । तर, सबै मिलेर उनलाई शुद्ध बनाइयो । र, फेरि अर्थ मन्त्रालयमै फर्काइयो ।

शासकहरुले राष्ट्र बैंकलाई आफू अनुकुल प्रयोग नहुँदा कुन हदसम्मका व्यवहार गर्छन् भन्ने यी दुई उदाहारण मात्रै हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले तत्कालीन गभर्नर डा. चिरञ्जीबि नेपालको सुराकी गर्न विशेष टोली नै परिचालन गरेका थिए । तर, डा. नेपालका कुनै पनि कमजोरी नभेटे पनि उनीहरुले केही गर्न सकेनन् ।


क्लिकमान्डु