कपाल स्याहार्ने मेसिन खरिदमा ९ महिनामा बिदेसियो ८ करोड



काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा कपाल स्याहार्ने विद्युतीय मेसिनमै ८ करोड रुपैयाँ बाहिरिएको छ । कपाल सुकाउने र कपाल स्ट्रेट या कर्ली बनाउने १ लाख ८५ हजार ६५९ वटा मेसिन खरिदमा ९ महिनामा ७ करोड ९७ लाख ३० हजार रुपैयाँ बाहिरिएको हो ।

गत वर्षको तुलनामा कपाल स्याहार्ने मेसिनको आयात बढेको छ । गत वर्षको साउनदेखि चैतसम्ममा ७ करोड २४ लाख ९१ हजार रुपैयाँका १ लाख ७४ हजार ५७ वटा कपाल स्याहार्ने आयात भएका छन् । समीक्षा अवधिमा गत वर्षको भन्दा यो वर्ष थप ११ हजार ६०२ वटा मेसिन आयात भएका छन् ।

गत वर्षभरमा ८ करोड ३३ लाख ६८ हजार मूल्यबराबरका २ लाख १० हजार २८१ वटा मेसिन नेपाल भित्रिएका छन् । चालू आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै मेसिन चीनबाट आएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट ४ करोड ७८ लाख ६५ हजारबराबरको ९८ हजार ९०८ वटा कपाल सुकाउने मेसिन आयात भएको छ । त्यस्तै २ करोड ५४ लाख ५८ हजार रुपैयाँबराबरका ७५ हजार ५२४ वटा मेसिन चीनबाट भित्रिएका छन् । भारत, थाइल्यान्ड, कतारलगायतका देशबाट पनि कपाल स्याहार्ने मेसिन आयात गरिएको छ ।


क्लिकमान्डु