सूर्यज्योति लाइफको साधारण सभा आह्वान



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले जेठ ४ गते १५ औं वार्षिक साधारण सभा बोलाएको हो ।

इन्स्योरेन्सको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजेदेखि शुरु हुने छ ।

सभाबाट कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने, प्रवन्धपत्र र नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्ने र फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विशेष प्रस्ताव अनुमोदन हुने छ ।

साविक सूर्या लाइफ इन्स्योरेन्सको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८/०७९ को नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण, साविक ज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसावमाथि छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव सभाबाट अनुमोदन हुने छन् ।

यस्तै, सभाले संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समुह खबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले वैशाख २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख २० गतेसम्म कायम भएका सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।


क्लिकमान्डु