फ्लाई दुबईको विमानमा चरा ठोक्किएको पुष्टि, तर प्राधिकरणको ‘झुट ब्रिफिङ’मा गलत बोल्दै मन्त्री किराँती



सोमबार राति फ्लाई दुबईको विमान उडेपछी १० बजेर ३ मिनेट (यूटीसीः १६:१७) मा रनवे (धावनमार्ग) निरीक्षणमा गएको एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले धावनमार्गमा मृत चरा (गौंथली) पाएको रिपोर्ट गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा उक्त जानकारी लुकाइएको छ ।

काठमाडौं । सोमबार राति ९ बजेर २० मिनेट (यूटीसीः १५:३५) मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट फ्लाई दुबईको जहाज दुबईका लागि उड्यो।

काठमाडौंबाट विमान उडेलगत्तै आगोको झिल्का देखियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोटेश्वरतर्फबाट विमान उडेलगत्तै पाइलटले विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई ‘मेडे’ भन्दै ‘इमर्जेन्सी डिक्लियर’ गरे ।

आकासमा उडिरहेको कुनै विमानमा यात्रु बिरामी हुँदा पाइलटले ‘प्यान’ भन्ने सूचना दिन्छन् । त्यसैगरी विमान संकटमा पर्दा पाइलटले मेडे भनेर सूचना दिन्छन् ।

पाइलटले मेडे सूचना दिएलगत्तै एटीसीले विमानस्थल बन्द गर्दै पाइलटलाई कस्तो सहयोग आवश्यक छ ? भनेर प्रश्न गरेको थियो। पाइटलले विमानमा रहेका इन्डिकेटर परीक्षण गर्ने र आवश्यक सहयोग माग गर्ने जानकारी एटीसीलाई गरायो ।

काठमाडौंमा अवतरण गर्ने तयारी गरेका ७ विमानलाई सिमराको आकाशमाथि होल्ड गर्दै एटीसी निरन्तर फ्लाई दुबईसँग सम्पर्कमा थिए । फ्लाई दुबईको विमान काठमाडौंको आकाशमाथि फन्को लगाइरहेको थियो ।

विमान उडेलगत्तै दुई-तीन पटक ड्याम्म आवाज सुनेर कोटेश्वर, इमाडोलका कयौं व्यक्ति घरबाहिर निस्किए । विमानमा आगो लागेको भन्दै सामाजिक सञ्जालमा भिडियो हाल्न थाले ।

सोही समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुललाई कोट गर्दै केही सञ्चारमाध्यमले विमानको बायाँ इन्जिन फेल भएको समाचार प्रकाशित गरे । जबकि, पाइटलले एटीसीलाई इन्जिन फेल भएको विषयमा कुनै जानकारी दिएका थिएनन् ।

काठमाडौंको आकाशमा २७ मिनेट फन्को लगाएपछि पाइलटले ९:४७ बजे (यूटीसीः १६:०२) मा विमानको अवस्था ठिकै रहेको र दुबईतर्फ उडान गर्ने जानकारी एटीसीलाई गराए । पाइटलले विमान उड्नका लागि तीव्र गतिमा गुडिरहँदा चरासँग ठोक्किएकाले आगोको झिल्का देखिएको जानकारी एटीसीलाई गरायो ।

फ्लाई दुबईको विमानमा आगोको झिल्का देखिएपछि सोमबार विमानस्थलमा एयर साइट म्यानेजमेन्ट ड्युटी टिम रनवे (धावनमार्ग) निरीक्षणमा गएको थियो ।

उक्त टिमले पनि एटीसीलाई धावनमार्गमा चरा देखिएको रिपोर्ट गरेको थियो । लगत्तै एटीसीले उक्त जानकारी लगबुकमा अपडेट गरेको थियो ।

क्लिकमान्डुलाई प्राप्त लगबुकअनुसार एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले रनवेमा मृत चरा पाएको रिपोर्ट गरेको उल्लेख छ। प्राधिकरणका एक अधिकारीका अनुसार राति प्राधिकरणको टिमले धावनमार्ग निरीक्षण गर्दा मरेको अवस्थामा गौंथली भेटिएको थिए ।

प्राधिकरणका महानिर्देशक अधिकारी विमानस्थलमै रहेको समयमा रनवे निरीक्षणमा गएको एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले फ्लाई दुबईको विमानमा चरा ठोक्किएको हुन सक्ने जानकारी गरायो ।

तर, अधिकारीले चरा व्यवस्थापनमा काम गर्न नसकेको आरोप लाग्ने भन्दै फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको जानकारी बाहिर नलैजान निर्देशन दिए । जसले गर्दा प्राधिकरणका सूचना अधिकारी भुलले बायाँ इन्जिन फेल भएको भन्दै जानकारी सम्प्रेषण गरेको स्रोतहरु बताउँछन् ।

फ्लाई दुबईले सोमबार राति नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चरा ठोक्किएर आगोको झिल्का देखिएको जानकारी सार्वजनिक गर्दासमेत प्राधिकरणका महानिर्देशक अधिकारी र उनीनिकट कर्मचारी विमानस्थलमा चरा नठोक्किएको दाबी गर्दै आएका छन् ।

मंगलबार दिउँसो प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले क्लिकमान्डुसँग रनवेमा कुनै चरा नभेटिएको दाबी गरेका थिए ।

एटीसीले चरा भेटिएको भन्दै लगबुकमा अपडेट गरेको छ नि भन्ने क्लिकमान्डुको प्रश्नमा प्रवक्ता निरौलाले भने- ‘सोमबार राति देखिएका चराहरु पहिल्यै मरेका हुनसक्छन् ।’

धावनमार्गमा पहिल्यै मरेका चराहरु थिए भन्ने तर्क गैरजिम्मेवारीको पराकाष्टा भएको विमानस्थलमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

‘धावनमार्गमा पहिल्यै मरेका चरा थियो भन्नुको अर्थ हामीहरु रनवे सफा नगरी उडान र अवतरण गर्छौं भन्ने हो,’ विमानस्थलमा कार्यरत एक एटीसीले भने, ‘यदि धावनमार्गमा चरा मरेको अवस्थामा हामीले विमान उडान वा अवतरण गर्न अनुमति दिन्छौं भने त्यो झनै ठूलो लापर्वाही हो ।’

प्रवक्त निरौलाको तर्कलाई आधार मान्ने हो भने विमानस्थलमा चरा हुँदाहुँदै सफा नगरी उडान र अवतरण गरेको देखिन्छ, त्यो हवाई सुरक्षाका हिसाबले गम्भीर लापर्बाही हो ।

विमानस्थलमा रहने एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले दैनिक तीनपटक रनवे निरीक्षण गर्ने भएकाले धावनमार्गमा पुरानो चरा हुने सम्भावना निकै कम हुने ती अधिकारी बताउँछन् । नेपाल वायुसेवा निगमका एक वरिष्ठ पाइटल पनि सोमबारको घटना चरा ठोक्किएर भएको हुन सक्ने बताउँछन् ।

‘कम्प्रेसर स्टल अर्थात् इन्जिन फेल भएको विमान ३८ हजार फिटको उचाइमा उड्नै सक्दैन,’ ती पाइटलले भने, ‘विमानस्थलबाट उडान गर्नुभन्दा केही सेकेन्डअघि विमानमा चरा ठोक्किएको हो । विमानको गति कम भएको भए पाइलटले विमान उडान नै गर्ने थिएनन् । तर, विमानको गति भी टु लेभल अर्थात् टेक अपको अन्तिम चरणमा पुगेकाले उडान गरिएको हो ।’

उड्नेबित्तिकै पाइलटले चरा ठोक्किएको थाहा पाएकाले ‘मेडे’ भन्ने जानकारी गराएको हुन सक्ने उनको भनाइ छ ।

‘राति पनि बत्तीले विमानस्थल उज्यालो जस्तै हुन्छ । विमान उड्नै लाग्दा केही चरा विमानको पखेटामा ठोक्किएको हुनसक्छ । प्रतिघन्टा १६० किलोमिटरभन्दा बढीको गतिमा रहेको विमानमा चरा ठोक्किँदा रातिको समयमा ठूलो आवाज आउनु स्वाभाविक हो,’ ती पाइलटले भने, ‘केही चरा पखेटामा रहेको हुनसक्छ । पखेटाको ब्लेडले चरालाई काट्यो । त्यसरी फरेन अब्जेक्ट (बाहिरी वस्तु) पखेटाबाट इन्जिनको बाहिरी भागमा जाँदा जल्यो । जसले गर्दा आगोको झिल्का देखिएको हुने सम्भावना धेरै छ ।’

एयरसाइटमा चरा भेटिएको र पाइटलले पनि ३८ हजार फिटमाथिसम्म उड्दै दुबईसम्म सुरक्षित उडान गरेकाले सोमबार इन्जिनको खराबीले आगोको झिल्का देखियो भन्ने तर्कमा दम नरहेको ती पाइलटको दाबी छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राधिकरणका उच्च अधिकारीको बिफ्रिङलाई विश्वास गर्दै विमानमा चरामा नठोक्किएको भनाइ सार्वजनिक गरेको निगमका एक पाइटल बताउँछन् ।

‘प्राधिकरणका उच्च अधिकारीहरुले आफ्नो असक्षमता लुकाउन मन्त्रीलाई नै गलत ब्रिफिङ गरे, उक्त गलत सूचनाको विश्वास गरेर मन्त्री (सुधन किराँती)ज्यूले विमानमा चरा नठोक्किएको दावी गरिरहनु भएको छ,’ एक एटीसीले क्लिकमान्डुसँग भने, ‘यतिसम्म कि चरा ठोक्कियो हो भनेर साँचो सूचना दिने फ्लाइ दुबईका नेपालस्थित २ जना कर्मचारीलाई प्राधिकरणले विमानस्थल प्रवेशमा रोक लगाएको छ।’

सोमबार विमानमा चरा ठोक्किएर इन्जिनमा कति क्षति पुग्यो भन्ने विषयमा इन्जिनको विस्तृत अध्ययन गरेपछि थाहा हुनेछ ।

‘मन्त्री किराँतीले सोमबार राति एटीसीले तयार पारेको लकबुक हेर्ने हो भने सत्य कुरा बाहिर आउँछ,’ ती एटीसीले भने ‘त्यसबेला मात्रै मन्त्री किराँतीले थाहा पाउने छन् कि प्राधिकरणका महानिर्देशक र उच्च तहका कर्मचारीले कतिसम्म झुट बोलेका रहेछन् भनेर ।’

विमानको पखेटामा चरा ठोक्किँदा आवाज आउनु, पखेटामा रहेको ब्लेडले चरा टुक्रा-टुक्रा भएर इन्जिन बाहिरसम्म पुग्नु र आगोको झिल्का देखिनु स्वाभाविक भएको पाइलटहरु बताउँछन् ।

फ्लाई दुबईले सोमबार चरा ठोक्किएको ट्वीटमार्फत् जानकारी गराएको थियो । दुबईको उड्डयन क्षेत्रको नियामक निकायलाई फ्लाइ दुबईले सोमबारको घटना कसरी भयो ? भन्ने विषयमा विस्तृत जानकारी गराएपछि थप सत्यतथ्य सार्वजनिक हुने नै छ ।

धावनमार्ग क्षेत्रमा चरा आउनु अस्वाभाविक नभए पनि चरा नियन्त्रण गर्ने गरी काम गर्न प्राधिकरणको नेतृत्व गम्भीर नहुनु समस्या भएको एटीसीहरु बताउँछन् ।

‘रातिको समयमा चरा ठोक्किएर दुर्घटना भएको हो । हामी आगामी दिनमा उड्डयन सुरक्षामा काम गर्छाै भनेर सत्य बोल्नुभन्दा पनि सत्य बोल्ने फ्लाई दुबईका कर्मचारीले गलत सूचना प्रवाह गरेको भन्दै कारबाही गरेर प्राधिकरण नेतृत्वले आफ्नो असक्षमता लुकाउँदै नियत उदाङ्गो पारेको छ,’ ती एटीसीले भने ।


शरद ओझा