साढे ४% ले बढ्यो निर्जीवन बिमा व्यवसाय, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर
काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले चालू आर्थिक वर्षको चैतसम्ममा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुुन् । कम्पनीहरुले यस अवधिमा २१ लाख ६६ हजार ३२८ वटा कुल बिमालेख जारी गरी कुल रकम संकलन गरेका हुन् ।
कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ४.५८ प्रतिशत अर्थात १ अर्ब ३१ करोड ३६ लाख रुपैयाँले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीहरुले २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका थिए।
सञ्चालनमा रहेका १६ निर्जीवन बिमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बिमाशुल्क संकलन गरेको छ । कम्पनीले चैतसम्ममा ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ लाख ३ हजार २०१ वटा कुल बिमालेख जारी गरी उक्त रकम संकलन गरेको हो ।
व्यवसायमा शिखरलाई मर्जर पश्चात बनेको नयाँ कम्पनी सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरले पछ्याएका छन् । मर्जर पश्चात बनेको सगरमाथा लुम्बिनीले यस अवधिमा ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ लाख ६५ हजार ५५८ वटा कुल बिमालेख जारी गरी उक्त रकम संकलन गरेको हो ।
यस्तै, मर्जर पश्चात बनेको नयाँ कम्पनी सिद्धार्थ प्रिमियरले यस अवधिमा २ लाख ६९ हजार ८ वटा कुल बिमालेख जारी गरी ३ अर्ब ३५ करोड २५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
व्यवसायमा नेको इन्स्योरेन्स र मर्जर पश्चात बनेको नयाँ कम्पनी हिमालयन एभरेष्टबीच प्रतिस्पर्धा चलेको छ । नेकोले यस अवधिमा २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्टले २ अर्ब २९ करोड ४९ लाख रुपैयाँ संकलन गरेको छ ।
यस्तै, नेपाल इन्स्योरेन्स, ओरियन्टल, राष्ट्रिय बीमा कम्पनी, प्रभु, आइएमई जनरल, प्रुडेन्सियल, अजोड, एनएलजी र सानिमा जिआइसीले १ अर्ब रुपैयाँभन्दा बढी बिमाशुल्क संकलन गरेका छन् ।
यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९९ करोड ५२ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड १२ लाख, सानिमा जिआइसीले १ अर्ब ६५ करोड ४६ लाख, अजोडले १ अर्ब ४४ करोड ३२ लाख, आइएमईले १ अर्ब ४२ करोड २२ लाख, प्रभुले १ अर्ब १५ करोड ४९ लाख, नेपालले १ अर्ब १५ करोड १० लाख र ओरियन्टलले १ अर्ब ७ करोड ३९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।
नेशनल र यूनाइटेडको व्यवसाय भने अर्ब भन्दा कम छ । नेशनलले यस अवधिमा ७६ करोड ३२ लाख रुपैयाँ र यूनाइटेडले ९५ करोड ३२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।
कम्पनीहरुले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ् तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बिमा, लघुबीमा र विविध बिमालेख बिक्री गर्दै आएका छन् ।