अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेसँग चेम्बरको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन-२०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउन पहल गर्न सभामुख देवराज घिमिरेसंग आग्रह गरेको छ ।

आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा गएको उक्त विधेयकले निजी क्षेत्रमा प्रतिकुल असर गर्ने भन्दै चेम्बरले सभामुख घिमिरेको ध्यानाकर्षण गराएको जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन-२०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकुल बनाउन सभामुख घिमिरेलाई चेम्बरले ज्ञापनपत्र समेत बुझाएको छ ।

मुलुकको अर्थतन्त्र जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र उद्योग व्यवसायमा प्रतिकुल असर पर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

‘उद्योग व्यवसायको प्रर्वद्धन, संरक्षण मार्फत निजी क्षेत्रको मनोबल उकास्नु पर्नेमा विधेयकमा उल्लेखित व्यवस्थाले थप हतोत्साही बनाएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याएर अनुसन्धान गर्ने व्यवस्था संविधानको भावना प्रतिकुल रहेको समेत अध्यक्ष मल्लले बताए ।

निजी क्षेत्रमा नियमन गर्ने सम्बन्धित निकायहरु हुँदा हुँदै थप अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा बेथिति बढ्ने र बैदेशिक लगानी समेत प्रभावित हुन सक्ने अध्यक्ष मल्लले बताए ।

निजी क्षेत्रको अनियमितता भए कारबाही गर्ने सम्बन्धित छुट्टै निकाय भएकाले अख्तियारको क्षेत्रभित्र ल्याउन खोज्नु अनावश्यक भएको अध्यक्ष मल्लको भनाइ छ ।

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख घिमिरेले निजी क्षेत्र मैत्री कानुन निर्माणका लागि आफु प्रयासरत रहेको बताए ।

‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ’ उनले भने, ‘तर अभिभावकीय भूमिका निर्वाह गर्ने म तपाईँहरुलाई विश्वास दिलाउँछु, ।’ संसदीय समितिहरु गठनको प्रक्रीयामा रहेकाले पनि गठन भए लगत्तै आफ्ना सुझावहरु दिने घिमिरेले बताए ।


क्लिकमान्डु