बिजुली होइन, लोडसेडिङको तालिका माग्छन् पूर्वका उद्योगी व्यवसायी
काठमाडौं । अघोषित लोडसेडिङ र लो भल्टेजबाट आजित भएका पूर्वका उद्योगी व्यवसायी बिजुलीभन्दा पनि बत्ती आउने-जाने तालिका माग्दै आन्दोलनमा उत्रिएका छन् । विद्युत् आपूर्ति नियमित र लोडसेडिङको तालिका माग गर्दै सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायी आन्दोलित भएका हुन् ।
तालिकाबिना दैनिक १२ घण्टासम्म विद्युत् कटौती हुन थालेपछि मोरङ व्यापार संघको अगुवाइमा आइतबार व्यवसायीले विद्युत् प्राधिकरणको दुहवी ग्रिड घेराउ गरे । विद्युत् कटौतीको तालिका सार्वजनिक गर्नुपर्ने र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग उनीहरुको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल पटक-पटक लिखित र मौखिक रुपमा माग्दा पनि लोडसेडिङको तालिका नदिएपछि आन्दोलन गर्नुपरेको बताउँछन् ।
‘हामीले बिजुली छैन भने नदेऊ तर लोडसेडिङको तालिका देऊ भनिरहेका छौं तर जति पटक भने पनि लोडसेडिङको तालिका दिन नेपाल विद्युत प्राधिकरण तयार नै छै,’ उनले भने, ‘हामीले पहिला पनि पटक-पटक ज्ञापन पत्र बुझायौं, यही बिहीबार र शुक्रबार पनि बुझायौं, मैले टेलिफोनबाटै पनि कुलमानजीसँग कुरा गरेको छु तर भइहाल्छ भनेर झुलाउने काम मात्र भइरहेको छ ।’
लोडसेडिङको जिम्मा लिन कोही तयार नभएको उनले बताए । ‘नेपाल लोडसेडिङमुक्त भयो, अब बिजुली बेचर पैसा कमाइन्छ भनेर अगाडि भाषण गरेको छ, अब कुन मुखले लोडसेडिङ गर्ने भन्ने भएको हुनसक्छ,’ संघका अध्यक्ष रिजालले क्लिकमान्डुसँग भने, ‘तर सुक्खा समयमा कम बिजुली उत्पादन हुन्छ भन्ने हामीलाई पनि थाहा छ, त्यही भएर तालिका मागिरहेका छौं तर दिन कोही तयार छैन ।’
लोडसेडिङ तालिका भए धेरै कुरा व्यवस्थापन गर्न सहज हुने उनले बताए । ‘तालिका भए हामी बत्ती जानुअघि नै मेसिन बन्द गर्थ्यौं, त्यसो हुँदा मेसिनमा क्षति पुग्ने थिएन, मेसिनमा हालिसकेको कच्चा पदार्थ खेर जाने थिएन, ‘रिजालले भने, ‘अहिले त व्यवसायीले क्षतिमाथि क्षति व्यहोरिरहेका छन् ।’
कोभिड-१९ महामारीबाट बल्ल उम्किन लागेका बेला ब्याजदरको चपेटामा परेका उद्योगी व्यवसायी अहिले वस्तुको माग पनि नभएपछि तनावमा छन् । ‘यस्तो बेलामा जथाभावी हुने लोडसेडिङले झनै समस्या थपेको छ,’ उनले भने, ‘सरकार र विद्युत प्राधिकरण यसमा गम्भीर हुनैपर्छ ।’
विद्युत् प्राधिकरणले सूचना नदिई दैनिक लामो समय आपूर्ति बन्द गर्दा सुनसरी-मोरङ औद्योगिक क्षेत्रको उत्पादन ६० प्रतिशतसम्म कटौती भएको संघका पूर्वअध्यक्ष पवन सारडाले बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले भने कोशी प्रदेशका सुनसरी-मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको बताएको छ । बिनाजानकारी औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिएको गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०-१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीलाई आग्रह गरे ।
यो वर्ष हिउँ तथा पानी नपरेर सुक्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारणलाइनको क्षमताले नधानेकोलगायतका कारणले आपूर्ति प्रभावित भएको उनले बताए । ‘सप्तरीको रुपनी सबस्टेसनको ब्रेकर चुँडिएको र कटैया-कुशहवा १३२ केभी प्रसारणलाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भइरहेको छ,’ उनले भने ।
ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरुको जडित क्षमता करिब दुई सय मेगावाट भए पनि हिउँ तथा पानी नपर्दा अहिले करिब ३० मेगावाटमा झरेको प्राधिकरणले जनाएको छ । सुनसरी-मोरङ ओद्योगिक करिडोरका उद्योगलाई विद्युत् नकाट्न र लाइटिङ लोडमा चलाउन निर्देशन दिएको उनले बताए ।
‘अब १०-१५ दिनमा पूर्वमनसुन सुरु हुने अनुमान गरिएकाले त्यसपछि खोलानालामा पानीको वहाब बढ्ने विद्युत् उत्पादन पनि बढ्ने भन्दै उनले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन् ।
अहिले प्रणालीमा विद्युतको उच्चतम माग १ हजार ७ सय ५० मेगावाट पुगेको छ भने औसत माग १ हजार ३ सय मेगावाट छ । प्राधिकरणले कुलेखानी जलाशयलाई २४सै घण्टा पूर्ण क्षमतामा चलाएको बताएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक औसत ५ सय मेगावाट आयात गरिएको छ ।