बागलुङको बडीगाडदेखि ढोरपाटनसम्म ३३ केभीको प्रसारण लाइन बन्दै



काठमाडौं । बागलुङको बडीगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकासम्म भिमखोला साना जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण हुने भएको छ ।

३३ किलोभोल्ट विद्युतीय क्षमताको प्रसारणलाईन निर्माण हुन लागेको विद्युत विकास विभागले जानकारी दिएको छ ।

बागलुङको बडीगाड गाउँपालिकामा निर्माणाधीन भीमखोला जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको ढोरपाटन नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको बुर्तिबाङ सबस्टेसनसम्म यो प्रसारण लाइन बन्न लागेको हो । प्रसारण लाइनको कुल लम्बाई ७.०६ किलोमिटर हुने सूचनामा उल्लेख गरिएको छ ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले यो प्रसारण लाइन निर्माण गर्न लागेको हो । ३३ किलोभोल्ट विद्युतीय क्षमताको यो प्रसारण लाइन सिंगल सर्किटको रहेको छ भने यसबाट ४.९६ मेगावाटसम्म विद्युतीय शक्ति प्रसारण गर्न सकिनेछ । प्रसारणलाइनअन्तर्गत १७४ वटा स्टिल टुबुलर पोल रहनेछन् ।

प्रसारण लाइन निर्माणको काम निर्माण कार्य सुरु भएको ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु