कुलमानको राजीनामा माग गर्दै व्यवसायी सडक आन्दोलनमा



विराटनगर । विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म विद्युत् कटौती हुँदै आएको भन्दै मोरङ व्यापार संघले आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ ।

विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले धर्ना दिए ।

दैनिक ८ देखि १२ घण्टासम्म सूचनाबिना अनियमितरुपमा विद्युत् आपूर्ति रोकिँदा उद्योगको उत्पादन प्रक्रिया प्राय ठप्प रहेको र औद्योगिक कच्चा पदार्थ खेर जाने तथा मेसिनरी सामान बिग्रिने गरेको संघका अध्यक्ष नविन रिजालले बताए ।

विद्युत् प्राधिकरणले सूचना नदिई दैनिक लामो समय आपूर्ति बन्द गर्दा सुनसरी मोरङ औद्योगिक क्षेत्र प्राभावित भई ६० प्रतिशतसम्म उत्पादन कटौती भएको संघका पूर्वअध्यक्ष पवन सारडाले बताए ।

धर्नाका क्रममा उद्योगीले विद्युत् कटौती तालिका सार्वजनिक गर्, जथाभावी विद्युत् काट्न पाइँदैन, उद्योग मार्न पाइँदैन, कुलमान घिसिङ राजीनामा दे जस्ता नारा लगाएका थिए ।


क्लिकमान्डु