नौ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात, अमेरिकामा सबैभन्दा धेरै



काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा २ अर्ब २६ करोडको खानेकुरा विदेश निर्यात भएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा अहिलेको निर्यात करिब ३० करोड रुपैयाँले धेरै हो । गत वर्षको ९ महिनामा १ अर्ब ९७ करोडको कुकुरको खानेकुरा निर्यात भएको थियो ।

सबैभन्दा धेरै अमेरिकामा १ अर्ब ९५ करोडको खानेकुरा निर्यात भएको छ । गत वर्षको ९ महिनामा पनि अमेरिकामा नै धेरै १ अर्ब ६३ करोडको खानेकुरा निर्यात भएको थियो ।

यस्तै क्यानडामा २१ करोड, जापानमा २ करोड ७७ लाख, बेलायतमा २ करोड ५५ लाख, यूएईमा २७ लाख ७८ हजार, हङकङमा ८१ लाख २३ हजार, दक्षिण कोरियामा ७५ लाख ३३ हजार, नेदरल्यान्ड्समा ६२ लाख २७ हजार र सिंगापुरमा ९८ लाख ८३ हजार रुपैयाँको निर्यात भएको छ ।

यसबाहेक बेलारुस, ब्राजिल, चीन, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, मलेसिया, फिलिपिन्स, पोल्यान्ड, स्लोभाकिया, स्पेन, ताइवान र थाइल्यान्डमा पनि कुकुर-बिरालाको खानेकुरा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

समीक्षा अवधिमा २५ देशमा यस्तो खानेकुरा निर्यात भएको छ । फागुनसम्ममा १ अर्ब ९७ करोड रुपैयाँबराबरको कुकुर-बिरालाको खानेकुरा निर्यात भएको थियो । चैतमा मात्रै करिब ३० करोडको निर्यात भएको हो ।


क्लिकमान्डु