नेपालले सबैभन्दा बढी व्यापार गर्ने यी १० देश, भारत आयात-निर्यात दुवैमा अगाडि
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १६० देशसँग १२ खर्ब रुपैयाँको आयात व्यापार गरेको छ । त्यसमा पनि १० देशबाट मात्रै १० खर्ब ७१ अर्बको आयात भएको छ । यो रकम कुल आयातको ९० प्रतिशत हो ।
नेपालले सबैभन्दा बढी आयात गर्ने देश भारत हो । नेपालले भारतबाट ९ महिनामा ७ खर्ब ५३ अर्बको आयात गरेको छ । भारतबाट हुने आयात कुल आयातको ६२.७५ प्रतिशत हो ।
त्यस्तै चीनबाट १ खर्ब ६२ अर्बको आयात भएको छ । त्यसबाहेक सबैभन्दा बढी आयात हुने १० देशको सूचीमा इन्डोनेसिया, यूएई, अर्जेन्टिना, मलेसिया, अस्ट्रेलिया, युक्रेन, अमेरिका र कतार छन् ।
चालू आवको ९ महिनामा नेपालले १ खर्ब १८ अर्बको निर्यात व्यापार गर्दा १० देशसँग मात्र १ खर्ब १० अर्बको निर्यात व्यापार गरेको छ । यो कुल निर्यातको ९३ प्रतिशत हो । सबैभन्दा धेरै भारतसँग ८२ अर्ब ९८ करोड रुपैयाँको निर्यात गरेको छ । यो रकम कुल निर्यातको ७० प्रतिशत बराबर हो ।
नेपालले यो अवधिमा १३ अर्ब ९० करोडको सामान अमेरिका निर्यात गरेको छ । त्यसबाहेक नेपालले जर्मनी, बेलायत, टर्की, क्यानडा, फ्रान्स, अस्ट्रेलिया, जापान र इटालीसँग बढी व्यापार गरेको छ ।
समीक्षा अवधिमा नेपालले ३५ देशसँग नाफाको व्यापार गरेको छ भने १२५ देशसँग घाटाको व्यापार गरेको छ ।
चालू आवको ९ महिनामा नेपालले १० खबै ८३ अर्ब व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा नेपालले १२ खर्ब १५ अर्ब रुपैयाँको सामान आयात गर्दा १ खर्ब १८ अर्बको मात्र निर्यात गरेको हो ।
व्यापार घाटा गत वर्षको ९ महिनाको भन्दा १७ प्रतिशत कम हो । गत वर्षको ९ महिनामा १३ खर्ब ६ अर्बबराबरको व्यापार घाटा भएको थियो ।