बेलकोटगढी, लिखु, तारकेश्वरलगायतका क्षेत्रमा एमसीसी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्त गरिँदै



काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)अन्तर्गत सञ्चालन भइरहेको एमसीसी परियोजनाको डबल सर्किट ५ केभी क्षमताको प्रसारण लाइनका निर्माणका लागि रातमाटेदेखि लम्सेफेदी, रातमाटेदेखि नयाँ दमौली र रातमाटेदेखि हेटौंडाको जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको छ ।

एमसीए नेपालले सूचना प्रकाशित गर्दै बेलकोटगढी नगरपालिका, शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकामा जग्गा प्राप्तिका लागि प्रक्रिया सुरु भएको जनाएको छ । गत चैत २७ गते नुवाकोटका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अघि बढाउने निर्णय भएको एमसीए नेपालले जनाएको छ ।

उक्त निर्णयअनुसार रातमाटेदेखि लम्सेफेदीसम्म प्रसारण लाइनका लागि तलाखु, शिवपुरी, लिखु, महाकाली पञ्चकन्या, थानसिं, बेलकोटगढीलगायतका क्षेत्रमा जग्गा प्राप्तिको काम सुरु भएको छ । त्यस्तै, रातमाटेदेखि नयाँ दमौलीसम्म प्रसारण लाइन निर्माणका लागि रातमाटे, बुधसिं, बेलकोटगढी, तारकेश्वरलगायतका क्षेत्रमा जग्गा प्राप्तिको काम सुरु भएको छ ।

सँगै रातमाटेदेखि नयाँ हेटौंडासम्मको प्रसारण लाइन निर्माणका लागि रातमाटे, दुई पिपल र बेलकोटगढी क्षेत्रका विभिन्न वडामा जग्गा प्राप्तिको काम सुरु भएको एमसीए नेपालले जनाएको छ ।


क्लिकमान्डु