नयाँ वर्षको पहिलो सेयर कारोबारमा देखिएन उत्साह



काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा धेरै उत्साह देखिएन । २०८० सालको पहिलो कारोबारमा बजारका साथै कारोबार रकममा पनि सुधार आउन सकेन ।

बजारमा गिरावट आउँदा कारोबार रकम पनि न्यून नै भयो । बजार मापन गर्ने सूचक २.८० अंकले घटेर परिसूचक १९३१.६८ बिन्दुमा रोकियो । २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको मात्रै सेयर किनबेच भयो ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखियो । विकास बैंक १४.५५, वित्त ८.३०, जलविद्युत १४.५७, उत्पादन तथा प्रशोधन २५.२१, माइक्रोफाइनान्स २३.३०, अन्य ६.९२ र ट्रडिङ समूहको उपसूचक २१.२८ अंकले घटेको छ । कारोबारमा बैंकिङ समूहको ०.१५, होटल १५५.६४, जीवन बीमा ८.७३, निर्जीबन बीमा समूहको उपसूचक १८.७९ अंकले बढेको छ ।

बजारमा सामान्य गिरावट आउँदा आदर्श लघुवित्त वित्तीय संस्था, मोलुङ हाईड्रोपावर, कालिन्चोक दर्शन कम्पनीको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । तारागाउँ रिजेन्सी होटल, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा एशियन हाईड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, माहुली लघु्वित्त वित्तीय संस्था, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । होटलको ३ करोड ८९ लाख ४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एशिया बैंक र शिवम सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु