पोखरा विमानस्थल बनाउन लिएको ऋणको १ अर्ब ५७ करोड ब्याज प्राधिकरणले तिरेन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा लिएको ऋणको ब्याज नियमित नतिरेको खुलेको छ ।

महालेखापरिक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा लिएको ऋणको पुरा ब्याज प्राधिकरणले नतिरेको उल्लेख छ ।

प्राधिकरणले सरकारलाई २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ ब्याज बुझाउनुपर्नेमा ६१ करोड ५९ लाख रुपैयाँ मात्रै तिरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पोखरा विमानस्थल निर्माणका लागि सरकारले चीनको एक बैंकबाट २ प्रतिशत ब्याजदरमा ४९ करोड ३८ लाख ४ हजार चाइनिज यूआन ऋण लिएको थियो ।

सरकारले उक्त ऋण सहायक सम्झौता गरी ५ प्रतिशत ब्याजदरमा प्राधिकरणलाई दिएको थियो । उक्त ऋणको ब्याज प्राधिकरणले बैंकलाई तिरेको जनाए पनि सरकारलाई यस सम्बन्धी विवरण पेश गरेको छैन ।

बैंकलाई तिरेको रकम घटाउन पनि प्राधिकरणले सरकारले थप १ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ ब्याज तिर्नु पर्ने महालेखाले जनाएको छ ।

गत पुस १६ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्धाटन गरिए पनि हाल सम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन् ।
महालेखापरिक्षकको ६० औं प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा पनि अनियमिता भएको उल्लेख छ ।
प्राधिकरणले आयोजना निर्माणका लागि ठेक्का सम्झौता गर्दा नेपाल सरकारलाई घाटा पर्ने गरि निर्णय गरेको प्रतिवेृदनमा उल्लेख छ ।


क्लिकमान्डु