पाँच जलविद्युत आयोजनामा १ खर्ब ६७ अर्ब लगानी स्वीकृत, रासायनिक मल कारखानाको अध्ययन हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्ड नेपालको बैठकले ५ जलविद्युत परियोजनाका लागि १ खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

बोर्डको कार्यालयमा बिहीबार बसेको ५३औं बैठकले तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी-२, सिम्बुवा खोला र अपर मादी परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

लगानी बोर्डले तल्लो अरुण जलविद्युत परियोजनामा ९२ अर्ब ६८ करोड लगानी स्वीकृत गर्दै परियोजना विकासकर्ता भारतीय कम्पनीसँग वार्ता गरी परियोजना विकास सम्झौताको दस्तावेज तयार पारेर पेस गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

त्यसैगरी, १०२ मेगावटको माथिल्लो मर्स्याङ्दी १ परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दुधकोसी-२ परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाट क्षमताको अप्पर मादी खोला परियोजनाको ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

लगानी बोर्डले डाबर नेपालको पुँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारी पत्रको मस्यौदालाई स्वीकृत गरेको छ । यस्तै, रासायनिक मल कारखाना स्थापनाको सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार डीआएएजी इन्डस्ट्रिज जर्मनीसँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ ।

बोर्डले स्वीकृत गरेको ५ जलविद्युत परियोजनामा १ खर्ब ४५ अर्ब रुपैयाँ विदेशी र २० अर्ब स्वदेशी लगानी हुनेछ । तीन परियोजना आन्तरिक खपतका लागि प्रयोग हुने भए पनि ६६९ मेगावाट क्षमताको तल्लो अरुण भारत निर्यात गर्ने गरी निर्माण हुनेछ ।

यस्तै, बैठकले पश्चिम सेती जलविद्युत परियोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदनको विषयमा जानकारी लिँदै बृहत परियोजना प्रतिवेदन बनाउन निर्देशन दिएको लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत शुशील भट्टले जानकारी दिए ।


क्लिकमान्डु