धितोपत्र बोर्डद्वारा स्टक एक्सचेन्ज लाइसेन्सको पुन: आवेदन माग



काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि पुनः आवेदन माग गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले रोकिएको स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि बोर्डले आज पुन: आवेदन माग गरेको हो ।

बोर्डले आवेदनका लागि १० दिनको समय दिएको छ । असोज २ गते प्रकाशित सूचनाअनुसार आवेदनको समय ४५ दिन तोकिएकोमा सर्वोच्चको आदेशले १० दिन अगावै आवेदन प्रक्रिया रोक्नुपरेकाले त्यति नै समयका लागि आवेदन खुला गरिएको बोर्डले जनाएको छ ।

असोज २ गते धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिन आवेदन माग गरेको थियो । असोज ३१ गते अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले रिट खारेज गरेपछि बोर्डले प्रक्रिया अघि बढाएको हो । ‘सर्वोच्च अदालतबाट २०७९ कात्तिक ४ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशले १५ कात्तिकमा अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको थियो,’ धितोपत्र बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।


क्लिकमान्डु