उद्योग वाणिज्य महासंघको निर्वाचनः मतगणना सुरू



काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा वस्तुगततर्फको मतगणना सुरु भएको हो । एसोसिएट र जिल्ला/नगरको भने केहीबेरमा गणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले बताए ।

आजै भएको मतदानमा वस्तुगततर्फ १२३ मत खसेको पनि पौडेलले जनाए ।

त्यस्तै, एसोसिएटतर्फ १६४९ मत खसेको छ भने जिल्ला/नगरतर्फ ११७ मत खसेको पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्लारनगरतर्फ र वस्तुगततर्फ शतप्रतिशत मत खसेको हो । एसोसिएटतर्फ भने सबै मत नखसेको पौडेलले बताए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई उम्मेदवार रहेका छन् ।

त्यस्तै जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जना चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गरेका छन् । जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।


क्लिकमान्डु