महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने कम्पनीले गर्‍यो १३ अर्बको व्यापार



काठमाडौं । महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने अग्नी इनकर्पोरेट प्रालिले १२ अर्ब ९३ करोड बढीको व्यापार गरेको छ । सन् २०२१ को तुलनामा २०२२ मा कम्पनीको व्यापार बढेको हो ।

कम्पनीले सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा भने कम्पनीले १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ९ अर्ब ४८ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा १६ अर्ब ३५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले महिन्द्रा ब्रान्डको यात्रुवाहक गाडी र ट्र्याक्टर सेग्मन्टमा सवारी साधन बिक्री वितरण गर्दै आएको छ । क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्माका लगानी रहेको कम्पनीको देशभर १२ वटा शोरुम तथा शाखा रहेको छ भने २४ वटा अन्य प्रादेशिक डिलरशिप रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ५४ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब ६९ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनी प्लेस अन वाच विथ नेगेटिभ इम्लिकेशन रेटिङ दिएको छ ।

रेटिङ एजेन्सी इक्राअनुसार आर्थिक मन्दीले कम्पनीको सन् २०२३ को ६ महिनाको अवधिमा ५६ प्रतिशतले माग घटेकाले व्यापारमा उच्च प्रभाव परेको छ । जसले गर्दा नेगेटिभ इप्लिकेशन दिएको एजेन्सीले जनाएको छ ।

कम्पनीले व्यापार गरेकामध्ये दुईवटा मुख्य ब्रान्ड स्कोरपियो र बोलेरोको हिस्सा ९६ प्रतिशत रहेको छ । कम्पनीअनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कम्पनीले गरेको आम्दानीमध्ये यी दुई ब्रान्डको हिस्सा ९६ प्रतिशत पुगेको छ । जबकी उक्त दुई वटा ब्रान्डको हिस्सा सन् २०२१ मा ९१ प्रतिशत थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा करिब १३ अर्बको व्यापार गरेकोमा १०.५ प्रतिशतले नाफा कमाएको छ ।


क्लिकमान्डु