बैंकबाट ॠण लिएर तिर्दिन भन्नु अराजकता: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट ॠण लिएर तिर्दिन भन्नु अराजकता भएको बताएका छन्।

मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले ब्याजदर बजारले निर्धारण गर्ने धारणा राखे ।

‘हामीले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर ४ प्रतिशतभन्दा बढी हुनु हुँदैन,’ अधिकारीले भने,’ब्याजदर बढदा वा घट्दा बैंकले पाउने मार्जिन ४ प्रतिशत मात्रै हो । ब्याजदर बढ्दा निक्षेप कर्जाले लाभ पाउँछन् । घट्दा ॠणीले लाभ पाउँछन् । यदी तरलता सहज भयो भने ब्याजदर घट्छ । तरलता संकुचित भयो भने ब्याजदर बढ्छ । ब्याजदर बजारले निर्धारण गर्ने हो।’

आगामी दिनमा ब्याजदर कम हुँदा पनि उक्त स्रोत उत्पादन बढाउने क्षेत्रमा प्रयोग नभए फेरि समस्या आउन सक्ने अधिकारीले बताए ।

गभर्नर अधिकारी अर्थतन्त्र सुधार हुँदै गए पनि जनतालाई सुधार भयो भन्ने महसुस हुन समय लाग्ने बताउँछन् ।

कोरोना महामारीको क्रममा राष्ट्र बैंकले बजार सहजीकरण गर्न कर्जा लगानी गरेको भए पनि केही ब्यक्तिले दुरुपयोग गरेको अधिकारीले बताए ।

‘यो वर्ष हामीले कर्जा दुरुपयोग गर्नेलाई कारबाही गरेका छौं, व्यवसाय संचालन गर्न दिएको कर्जा दुरुपयोग भए नभएको विषयमा हामीले स्वतन्त्र लेखापरीक्षण पनि गरिरहेका छौं,’ अधिकारीले भने, ‘हामीले एकै पटक कठोर प्रकृतिको बैंकिङ कसुरमा कारबाही गर्नुभन्दा पनि व्यवसायी र सरोकारवाला सबै पक्ष सुधार हुन् भन्ने हाम्रो चाहना छ ।’

बैंकबाट ॠण लिएर तिर्दिन भन्नु अराजकता भएको अधिकारीले बताए । ‘बैंक, लघु वित्त वा अन्य कुनै पनि संस्थाबाट लिएको ॠण तिर्नै पर्छ,’ अधिकारीले भने, ‘अहिले ॠण नतिर्ने आन्दोलन जसरी चर्किएको छ, यसले बैंकहरूलाई पनि अध्ययन बिना कर्जा दिनु हुँदैन भन्ने ज्ञान दिएको छ ।’


क्लिकमान्डु