२०७९ मा नेपालमा फिल्मले गरे १ अर्ब ७९ करोडको व्यापार, ‘कबड्डी ४’ ले कमायो सबैभन्दा बढी



काठमाडौं । २०७९ सालमा नेपालमा प्रदर्शन भएका नेपालीसहितका फिल्मको व्यापार १ अर्ब ७९ करोड ८१ लाखभन्दा धेरैको भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ मा नेपालमा रिलिज भएका १३२ फिल्महरुको कुल व्यापार १ अर्ब ७९ करोडभन्दा धेरै भएको हो ।

विकास बोर्डको तथ्यांकअनुसार नेपालमा कुल १३२ स्वदेशी तथा विदेशी फिल्महरु रिलिज भएका थिए । वर्षभरिमा यी फिल्मका लागि कुल ६१ लाख ४४ हजार ११२ वटा टिकट बिक्री भएको विकास बोर्डको तथ्यांक छ ।

२०७९ मा नेपालमा रिलिज भएका फिल्महरुमध्ये सबैभन्दा धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ रहेको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको उक्त फिल्मका ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएको छ भने उक्त फिल्मले २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ आम्दानी गरेको विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, वर्षभरि रिलिज भएका फिल्महरुमध्येबाट कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ । उक्त फिल्मले कुल ६ लाख ७७ लाख ६९९ वटा टिकट बिक्री गर्दै १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ कमाइ गरेको छ ।


क्लिकमान्डु