उद्योगी व्यवसायीलाई पनि मर्यादाक्रममा समावेश गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीहरूलाई पनि राष्ट्रिय मर्यादाक्रममा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई राज्यको तर्फबाट सम्मानित गर्नुपर्ने भन्दै प्रोटोकलमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरुले आफूहरुको पनि प्रोटोकल तय हुनु पर्ने माग उठाउँदै आएका छन् ।

‘नेपालको संविधानले तीनखम्बे अर्थनीतिको संवैधानिक व्यवस्था गर्दै निजी, साझेदारी र सहकारीको मोडल अगाडि सारेको छ, यसले प्रष्ट गर्छ कि राज्य र निजी क्षेत्रबीच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने,‘निजी क्षेत्रलाई राज्यको तर्फबाट सम्मानित गर्नुपर्ने र प्रोटोकलमा समावेश गर्नुपर्ने जुन विषय यहाँहरूले उठाउनुभएको छ, यस प्रस्तावमा आवश्यक छलफल गरी उपर्युक्त निष्कर्षमा पुग्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’

निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइ अर्थतन्त्रमा देखिएको स्ट्रेसको सामना गर्न सकिँदैन भनेर आफू प्रधानमन्त्री भएदेखि नै प्रकृया सुरु गरेको बताए ।

निजी क्षेत्रको चासो र माग सम्बोधन गर्न सरकार प्रतिवद्ध छ । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधार ल्याउन राज्य र निजी क्षेत्रबीच गहिरो सहकार्य र बलियो एकता आवश्यक भएको महसुस गरी अर्थतन्त्र सुधारसम्बन्धि केही नीतिगत निर्णय गरेको र त्यसको प्रभाव अर्थतन्त्रमा क्रमशः पर्दै जाँदा अर्थतन्त्रमा सुधार आउन थालेको देखिएको उनले बताए ।


क्लिकमान्डु