संसदमा माफी माग्दै रास्वपाले भन्यो: विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई लिएर माफी मागेको छ ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा रास्वपाका सांसद सन्तोष परियारले उक्त टेलिफोन संवादलाई पार्टीले गम्भीर रूपमा लिएको बताए ।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईंहरूको सम्मानमा परेको चोटप्रति हामी क्षमा चाहन्छौँ । संसद्को गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण्ण रहनेछौँ । यो घटनाले हामीलाई कतै पनि विचलित गर्नेछैन भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।

श्रेष्ठले रकम मागेको घटना नेपाली राजनीतिमा पहिलो नभएको भन्दै परियारले विगतका घटनाहरूको पनि छानबिन गर्नुपर्ने धारणा राखे । ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर, ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्छ’ उनले भने ।

रास्वपा सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।


क्लिकमान्डु